
श्रेणी : कृषि
महोत्तरी,२८ माघ । महोत्तरीका ग्रामीण बस्तीहरूमा जङ्गली बँदेलको उपद्रोले किसानलाई चिन्तित बनाएको छ। आहाराको खोजीमा गाउँ पस्ने बँदेलको संख्या पछिल्लो समय तीव्र रूपमा बढेपछि खेतीपाती जोगाउन किसानलाई सकस भएको छ। सीमाक्षेत्रका झाडीहरूमा बँदेलको स्थायी बसोबास भएको किसानहरूले गुनासो गरेका छन्।
जलेश्वर–५ चौरियाका ७५ वर्षीय रहिमन मण्डलका अनुसार दशगजा क्षेत्र नजिकैको झाडीमा बँदेलका समूहले स्थायी बास बनाएका छन्। “हामीले लगाएका बाली नै यिनको आहाराजस्तो भइसकेको छ,” मण्डलले भने। जिल्लाको मटिहानीदेखि खैरवनीसम्मको करिब ३९ किलोमिटर सीमाक्षेत्रमा बँदेल बाक्लै देखिन थालेका छन्। स्थानीय बासिन्दा कौशीलाल यादवले नदीउकास क्षेत्रका काँसका झाडीहरूमा झन बढी बँदेल देखिने बताए।
बँदेलले केराका कोथा, हरिया तरकारी, कोवी, गहुँलगायत बालीमा क्षति पुर्याउने गरेका छन्। रामगोपालपुरका किसान मोहम्मद कादिर हुसैनले पछिल्ला चार-पाँच वर्षदेखि बाली जोगाउन नसकेको बताउँदै भने, “अब त बाली लगाउनु नै बँदेलका लागि जस्तो भएको छ।”
बँदेलसँगै नीलगाईको सङ्ख्या पनि बढ्दो छ। औरही नगरपालिकाका रामस्नेही यादवले नीलगाई वनतिर ओहोरदोहोर गरिरहने तर बस्तीमा बाक्लै देखिने बताए। “अब यी जनावर वन्यजन्तु नभएर बस्ती वरपरका बासिन्दा नै बनेका छन्,” यादवले भने।
बँदेल र नीलगाईको आतङ्कले महोत्तरीका १५ स्थानीय तहका किसानलाई दिक्क बनाएको छ। “हामीले प्रहरी र प्रशासनमा हारगुहार गरिरहेका छौँ,” बलवा नगरपालिकाका मन्सुल कवारीले भने, “तर समाधानका लागि भरपर्दो उपाय खोजिएको देखिन्न।”
कृषिविज्ञ रामबहादुर भुजेलले वन्यजन्तुको तलतिर झर्ने कारणबारे बताउँदै भने, “वन क्षेत्रमा अत्यधिक मानव चहलपहल, शिकारीको दपेटाइ, पानी र आहाराको कमीले यी जनावर बस्ती नजिक आउन थालेका हुन्।” किसानले अब सरकारलाई तत्काल पहल गर्न माग गरेका छन्।


प्रतिक्रिया