श्रेणी : प्रदेश
काठमाडौं, ९ माघ । नेपाल सरकारले देशभर १७ लाख किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिन आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १५ दिने अभियान सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई लक्षित गर्दै देशव्यापी खोप कार्यक्रम अघि बढाउन लागेको हो।
मन्त्रालयका अनुसार यस अभियानमा करिब १६ लाख ८८ हजार ७६८ किशोरीलाई निःशुल्क खोप दिने योजना छ। ग्लोबल एलायन्स (गाभी) को सहयोगमा १७ लाख ७० हजार ४०० मात्रा खोप नेपालमा उपलब्ध भइसकेको छ।
बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, पाठेघरको मुखको क्यान्सर महिलाहरूमा चौथो मुख्य क्यान्सर हो। नेपालमा प्रत्येक वर्ष करिब २,१६९ महिलामा यो क्यान्सर देखापर्ने र १,३१३ जनाको मृत्यु हुने अनुमान छ।
डा. गौतमले पाठेघरको मुखको क्यान्सर रोक्नको पहिलो उपाय एचपीभी खोप रहेको बताए। उनले यो खोप जति सानो उमेरमा लगाइयो, त्यति प्रभावकारी हुने जनाए। खोप अभियान देशभरका १९ हजार ८०० विद्यालयमा सञ्चालन हुनेछ।
नेपाल सरकारले सन् २०३० सम्म ९० प्रतिशत १०–१४ वर्ष उमेरका किशोरीलाई एचपीभी खोप दिने, ३०–४९ वर्ष उमेरका महिलाको नियमित स्क्रिनिङ गर्ने, र क्यान्सर भएका ९० प्रतिशत महिलाको उपचार गर्ने लक्ष्य लिएको छ।
डा. सरिता घिमिरेले क्यान्सरबाट बच्न सचेतना र खोप दुवै आवश्यक रहेको बताइन्। उनका अनुसार, पाठेघरको मुखको क्यान्सर रोकथामका लागि प्रारम्भिक उमेरमै खोप लगाउनुपर्छ।
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले खोपबारे फैलिएका मिथक हटाउँदै यो खोप पूर्ण रूपमा सुरक्षित र प्रभावकारी रहेको बताए। उनले खोपबारे जानकारी अभावकै कारण त्रास फैलिएको भन्दै व्यापक सचेतना अभियान चलाउन जोड दिए।
नेपालमा यसअघि चितवन र कास्कीमा सिमितरूपमा सञ्चालन गरिएको खोप कार्यक्रम अहिले देशव्यापी रूपमा लागू हुन लागेको हो। यस अभियानबाट पाठेघरको मुखको क्यान्सर रोकथाममा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया