वीरगन्ज :

पत्रकार महासंघको शैक्षिक सुधार पहल, उपाध्यक्ष भन्छन “पहिला एसएलसी फेललाई सदस्यता देउ” !

श्रेणी : मधेस

7 months
Pradeep Sah
2.2kViews
1042 Shares

वीरगञ्ज। नेपाल पत्रकार महासंघ, पर्सा र वीरगञ्ज कलेजबीच शैक्षिक, सामाजिक, र पत्रकारिता क्षेत्रको प्रवद्र्धनका लागि सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सहमतिअन्तर्गत, पत्रकारहरूको दक्षता विकास र शैक्षिक क्षेत्रमा सुधार गर्न दुवै पक्षले संयुक्त प्रयास गर्ने भएका छन्।

सम्झौताअनुसार, पर्सा जिल्लामा कार्यरत पत्रकारहरूले वीरगञ्ज कलेजमा पत्रकारिता विषय अध्ययन गर्न वार्षिक रु. पाँच हजार शुल्कमा कक्षा ११ र १२ मा अध्ययन गर्न पाउनेछन्। राष्ट्रिय परीक्षा बोर्डले तोकेको रजिष्ट्रेशन, परीक्षा र प्रमाणपत्र शुल्क भने विद्यार्थीले आफैंले व्यहोर्नुपर्नेछ। समझदारी तीन शैक्षिक सत्रसम्म लागू हुनेछ, जसलाई आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा थप समयावधि बढाउन सकिने व्यवस्था गरिएको छ।

नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष ओमप्रकाश खनाल र वीरगञ्ज कलेजका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले समझदारी पत्रमा हस्ताक्षर गरे। महासंघका अध्यक्ष खनालका अनुसार, महासंघले प्लस टु सम्मको शैक्षिक योग्यता अनिवार्य गरेकाले यो सम्झौता पत्रकारहरूको शैक्षिक स्तर उकास्न सहयोगी हुने विश्वास गरिएको छ।

आलोचना र व्यङ्ग्य
तर, यो सहमतिले आलोचना र व्यङ्ग्यको सामना पनि गर्नुपरेको छ। महासंघका उपाध्यक्ष भुषण यादवले सामाजिक सञ्जालमा “पहिला एसएलसी फेललाई सदस्यता देउ, त्यसपछि १२ कक्षा पढाऊ 😂 भनी टिप्पणी गर्दै महासंघले आफ्नो प्राथमिकतामा पुनर्विचार गर्नुपर्ने सुझाव दिएका छन्।

त्यस्तै, महासंघका पूर्वअध्यक्ष अनुप तिवारीले पनि महासंघले शैक्षिक योग्यता नभएका व्यक्तिहरूलाई कसरी सदस्यता दिन सक्छ भन्ने प्रश्न उठाएका छन्। उनले भने, “महासंघको उद्देश्य र मापदण्डको बीचमा स्पष्ट अन्तर देखिन्छ। यसले संगठनको विश्वसनीयतामा असर पुर्याउन सक्छ।”

यद्यपि, महासंघकी उपाध्यक्ष निलिमा पौडेलले यस समझदारीलाई सकारात्मक परिवर्तनको सुरुवातको रूपमा व्याख्या गरिन्। “शैक्षिक र पत्रकारिता क्षेत्रको विकासका लागि यो सम्झौता माइलस्टोन बन्न सक्छ,” उनले भनिन्।

यो समझदारीले एकातिर शैक्षिक र पत्रकारिता क्षेत्रको प्रवद्र्धन गर्न प्रयास गरिरहेको छ भने अर्कोतिर, यसले संगठनभित्रका विविध धारणाहरूलाई पनि उजागर गरेको छ। सम्झौता कार्यान्वयन कसरी प्रभावकारी हुन्छ भन्ने आगामी दिनमा देखिन बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *