वीरगन्ज :

८ महिनामा नेपालमा वैदेशिक व्यापार १५ प्रतिशतले वृद्धि

श्रेणी : अर्थ

4 weeks
Pradeep Sah
1.6kViews
1485 Shares

काठमाडौं,०७ चैत । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेखनीय वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापार १५.२९ प्रतिशतले वृद्धि भएको देखिएको छ।

१३ खर्बभन्दा बढीको कुल व्यापार
भन्सार विभागका अनुसार, फागुन मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा यो कारोबार ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँ रहेको थियो।

११ प्रतिशतले बढ्यो आयात
नेपालको आयातमा ११.०२ प्रतिशतको वृद्धि भएको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरका सामान आयात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ रहेको थियो।

निर्यातमा उत्साहजनक वृद्धि
निर्याततर्फ भने झन् सकारात्मक संकेत देखिएको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालबाट विभिन्न देशहरूमा १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५७.२० प्रतिशतले वृद्धि भएको हो। गत वर्ष सोही अवधिमा निर्यात १ खर्ब ६१ करोड रुपैयाँ मात्रै रहेको थियो।

व्यापार घाटा ६ प्रतिशतले बढ्यो
वैदेशिक व्यापारमा सुधार भए पनि व्यापार घाटा भने अझै उच्च छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको कुल व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६.२२ प्रतिशतले बढी हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *