
श्रेणी : BANNER
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आइतबार सरकारी वकिलको कार्यालयले सुन तस्करीको आरोपमा २९ जना विरुद्ध मुद्दा दायर गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका २६ र फरार सूचीमा रहेका ३ जना गरी २९ जनाविरुद्ध मुद्दा दायरको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन् ।
साउन तीन गते राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलको भन्सार पास गरी सिनामंगल पुगिसकेको तस्करीको सुन बरामद गरेको थियो । यो प्रकरणको अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । यो प्रकरणमा सीआईबीले ३२ जनालाई पक्राउ गरेको छ भने १८ जना फरार छन् । सीआईबीले उनीहरूमध्ये २९ जनालाई मात्रै प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको थियो ।
उनीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अन्तर्गतको कसुरका साथै एक साथ यी अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय माग दाबी गरिएको छ ।

प्रतिक्रिया