
श्रेणी : प्रदेश
काठमाडौँ, ८ चैत्र । सरकारले अबको एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको खानेपानी मन्त्री प्रदीप यादवले बताएका छन् । राष्ट्रिय सभामा आयोजित मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा मन्त्री यादवले साे जानकारी दिएका हुन् ।
सांसद भुवनबहादुर सुनारले हाल मात्र १९ प्रतिशत नागरिकसम्म गुणस्तरीय पानीको पहुँच रहेको तथ्यलाई उल्लेख गर्दै सरकारको सुधार योजना के छ भनी प्रश्न गरेका थिए। साथै, शतप्रतिशत नागरिकलाई कहिलेसम्म स्वच्छ खानेपानीको पहुँचमा ल्याउन सकिन्छ भन्ने जिज्ञासा राखेका थिए ।
जवाफमा मन्त्री यादवले हाल २७ प्रतिशत नागरिकले स्वच्छ खानेपानीको सुविधा पाइरहेको तथ्याङ्क प्रस्तुत ग रे। यद्यपि, यस विषयमा थप अद्यावधिक आवश्यक रहेको भन्दै सरकार अझ तीव्र गतिमा काम गर्न प्रतिबद्ध रहेको बताए ।
“एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन योजनाबद्ध रूपमा अघि बढेका छौँ,” मन्त्री यादवले भने। उनले यो लक्ष्य चुनौतीपूर्ण भए पनि सरकार दृढताका साथ कार्यान्वयनमा लागेको बताए ।
नेपालमा करिब ४२ हजार खानेपानी उपभोक्ता समिति रहेको जानकारी दिँदै मन्त्री यादवले यी समितिहरूको सहकार्य तथा दातृ निकायहरूको सहयोगमार्फत लक्ष्य हासिल गरिने बताए । उनले तीनै तहका सरकारबीच समन्वय गरी खानेपानी पूर्वाधार विस्तारलाई तीव्रता दिने प्रतिबद्धता समेत जनाए ।


प्रतिक्रिया