वीरगन्ज :

३ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारवाही

श्रेणी : अर्थ

5 months
Pradeep Sah
1.8kViews
1659 Shares

काठमाडौं,०८ माघ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्ममा एनआईसी एशिया, प्रभु र हिमालयन गरेर तीन वाणिज्य बैङ्क राष्ट्र बैङ्कको कारबाहीमा परेका छन् । केन्द्रीय बैङ्कले नियामकीय व्यवस्था उल्लङ्घन गरेको भन्दै तीन बैङ्कलाई कारबाही गरेको हो ।

सोमबार सार्वजनिक तथ्याङ्कअनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कहरूमध्ये प्रभुले सबैभन्दा बढी नाफा कमाएको थियो । यद्यपि, सोही अवधिमा प्रभु बैङ्कले राष्ट्र बैङ्कको नियम उल्लङ्घन गरेको भन्दै कारबाहीमा परेको छ ।

राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को देहाय बमोजिमका विभिन्न दफाहरूको पालना नगरेकाले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैङ्क लिमिटेडको सञ्चालक समिति र नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सचेत गराएको छ ।

त्यस्तै, राष्ट्र बैङ्कले एकीकृत निर्देशन २०८० निर्देशन नं. २ को बुँदा नं. १ (ख) बमोजिम कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरूको पालना नगरेकोले हिमालयन बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक राणालाई नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम सचेत गराएको छ ।

त्यसैगरी, राष्ट्र बैङ्कले एनआईसी एशिया बैङ्क लिमिटेडका सञ्चालक समिति सदस्य र बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई चेतावनी दिएको छ ।

बैङ्कका सञ्चालक, निजहरूका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरूलाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैङ्कका सञ्चालक, निजहरूका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरूको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैङ्कको निर्देशन बमोजिम बढी प्रदान भएको ब्याज रकम फिर्ता गराएको छ ।

सोमबार सार्वजनिक तथ्याङ्कअनुसार एनआईसी एशिया बैङ्क नाफा कमाउन नसक्नेको पहिलो सूचीमा देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *