वीरगन्ज :

२४ घण्टामै वीरगञ्जको खानेपानी संकट अन्त्य गरेको दाबी, जनताको बिचमै रहने अडान दोहोर्‍याए प्रदीप यादव

श्रेणी : BANNER

1 hour
Pradeep Sah
1.7kViews
1899 Shares

वीरगञ्ज, २८ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवले चुनावी गतिविधि थप सशक्त बनाएका छन्। आगामी फागुन २१ गते तय भएको निर्वाचनलाई लक्षित गर्दै उनले घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार गरेका छन्।

पूर्व खानेपानी मन्त्रीसमेत रहेका यादव बुधबार वीरगञ्ज महानगरपालिका–१४ अन्तर्गतका विभिन्न बस्ती तथा टोलमा पुगेर स्थानीयसँग संवादमा केन्द्रित भएका थिए। घरदैलोका क्रममा उनले आफूले विगतमा निर्वाचित जनप्रतिनिधिका रूपमा निर्वाह गरेको भूमिकालाई प्राथमिकताका साथ प्रस्तुत गर्दै विकास निर्माणका उपलब्धिहरू स्मरण गराए।

यादवले विशेषगरी वीरगञ्जमा केही समयअघि देखिएको खानेपानी संकट समाधानलाई आफ्नो प्रमुख उपलब्धिका रूपमा उल्लेख गरे। उनका अनुसार संकट चर्किएको अवस्थामा आफू सम्बन्धित मन्त्रालयको जिम्मेवारीमा रहेकाले तत्काल निर्णय गर्दै प्रत्येक प्रभावित टोलमा डीप बोरिङ जडानको प्रक्रिया अघि बढाइएको थियो। उनले उक्त कदमले वीरगञ्जको दीर्घकालीन खानेपानी समस्यालाई समाधानतर्फ उन्मुख गराएको दाबी गरे।

चुनावी अभियानका क्रममा यादवले आफू सत्ता वा पदभन्दा जनताको सेवामा केन्द्रित रहेको सन्देश दिन खोजेका छन्। उनले निर्वाचित भएपछि पनि जनतासँग निरन्तर सम्पर्क कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै मतदातालाई विवेकपूर्ण निर्णय लिन आग्रह गरेका छन्। साथै, उनले प्रतिस्पर्धी उम्मेदवारहरूको उपस्थिती र योगदानको आधारमा मूल्याङ्कन गर्न मतदातालाई सुझाव दिएका छन्।

घरदैलो कार्यक्रममा वीरगञ्ज महानगरपालिका–१४ का वडाध्यक्ष महबुब एलाही अन्सारी, पूर्व वडाध्यक्ष भरत प्रसाद कुर्मी तथा एमालेका स्थानीय नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। स्थानीय स्तरमा उम्मेदवारको सक्रिय उपस्थिति र विकासका एजेण्डालाई लिएर मतदाताबीच छलफल चलिरहेको देखिएको छ, जसले निर्वाचन क्षेत्रको प्रतिस्पर्धालाई थप रोचक बनाएको विश्लेषण गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार पर्सा–१ मा विगतको विकास कार्य, जनतासँगको पहुँच र वर्तमान चुनावी रणनीति नै मुख्य प्रतिस्पर्धाको आधार बन्ने देखिन्छ। चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरूबीच जनमत आकर्षित गर्ने प्रतिस्पर्धा अझ तीव्र हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *