
श्रेणी : अपराध
विराटनगर,१४ असार । १७ वर्षअघि विराटनगरमा भएको हत्या घटनामा दोषी ठहर भएका राजकुमार सहनीलाई प्रहरीले पक्राउ गरेको छ। लामो समय फरार रहेका उनलाई जिल्ला अदालत मोरङले २०७७ माघ २० गते जन्मकैद सजाय सुनाएको थियो।
२०६५ साउन २६ गते विराटनगर–१५ का १७ वर्षीय शम्भुकुमार सहनीलाई धारिलो हतियारले निर्ममतापूर्वक हत्या गरिएको थियो। हत्या गरेपछि उनको शव दुई टुक्रामा पारेर विराटनगर–१६ स्थित नहरमा फालिएको थियो। २०६५ साउन २८ गते शव क्षतविक्षत अवस्थामा फेला परेको थियो।
प्रहरी अनुसन्धानले राजकुमार सहनी लगायतका अन्य व्यक्तिहरूको संलग्नता पुष्टि गरेको थियो। घटनामा संलग्न सबै फरार थिए भने राजकुमार अहिले मात्र पक्राउ परेको छ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, राजकुमार सहनीलाई विराटनगर–१५ स्थित नेपाल–भारत सीमानजिकैको १ नम्बर ढाटबाट पक्राउ गरिएको हो। पक्राउ प्रक्रिया इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई र सई सुवास अधिकारीको टोलीले गरेको थियो।
प्रहरीले जानकारी दिएको छ कि राजकुमार सहनी हत्या पश्चात लामो समय भारतमा लुकेर बसेका थिए, जस कारण उनको पक्राउ प्रक्रिया कठिन भएको थियो। अहिले उनलाई जिल्ला अदालत मोरङमा बुझाएर सजाय कार्यान्वयन गराउने तयारी भइरहेको छ।
अदालतको फैसला अनुसार, राजकुमारले कम्तीमा २० वर्ष कैद भोग्नुपर्नेछ।


प्रतिक्रिया