बीरगन्ज, २ चैत्र । १६ वर्षपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गत ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने पक्का भएको छ । आउँदो चैत ५ गते हुने चुनावका लागि उम्मेदवारहरू चुनावी प्रचारमा तिव्र रुपमा सक्रिय छन् ।
देशकै ऐतिहासिक शैक्षिक संस्थामध्ये एक मानिने ठाकुरराम क्याम्पसमा लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा विद्यार्थी नेतृत्वको अभाव खट्किएको थियो । यस पटकको निर्वाचनले क्याम्पसको भविष्यलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ ।
चुनावी प्रचारप्रसारका लागि भोलि राति १२ बजेसम्मको समय निर्धारण गरिएको छ । विद्यार्थी संगठनहरू आ–आफ्ना एजेन्डा लिएर प्रचारमा होमिएका छन्। सत्तारुढ नेकपा एमाले, नेपाली कांग्रेस र मधेश केन्द्रित दलहरूबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
यस चुनावले वीरगञ्ज मात्र होइन, देशभरका क्याम्पसहरूमा माहोल तताएको छ। अरु वेला तालाबन्दी, आन्दोलन र धर्नामा केन्द्रित रहने विद्यार्थी नेताहरू चुनावी समयमा भने विद्यार्थीका समस्या समाधान र विश्वविद्यालय सुधारका मुद्दा उठाइरहेका छन् ।
यही मौका उपयोग गर्दै प्रमुख दुई दलहरूलाई विपक्षी नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य साना दलहरूले मात्र होइन, केही स्वतन्त्र उम्मेदवारले पनि चुनौती दिएका छन् ।
चुनावी सरगर्मी बढ्दै गर्दा विद्यार्थीहरू आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित देखिन्छन्। स्ववियु निर्वाचनले नयाँ नेतृत्व चयन गर्दै क्याम्पसमा विद्यार्थी हितका मुद्दा उठाउन सक्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया