श्रेणी : अपराध
जनकपुर,२५ असार । धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ मा रहेको चाइनिज इँटाभट्टाको खाली घरबाट करिब १३ लाख २० हजार रुपैयाँ बराबरको अवैध काजु सशस्त्र प्रहरीले बरामद गरेको छ।
भारतबाट अवैध रूपमा भित्र्याइएकी १ हजार ३ सय २० किलो काजु लुकाइराखिएको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण, धनुषाबाट खटिएको टोली र जनकपुर भन्सार कार्यालयको संयुक्त अपरेसनमा काजु बरामद भएको हो। टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश शर्माले गरेका थिए।
काजु कसले र कहिले ल्याएर राखेको भन्नेबारे खुल्न सकेको छैन। बरामद काजुलाई आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालय, धनुषामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सिमावर्ती क्षेत्रमा अवैध रूपमा भित्रिने सामग्री नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी कडा पारेको जनाएको छ।

प्रतिक्रिया