
श्रेणी : अपराध
विराटनगर,२१ जेठ । शान्त देखिने सुनसरीको सीमा क्षेत्रभित्र लागुऔषध तस्करीको गम्भीर संकेत देखिएको छ। हरिनगरा गाउँपालिका–५ र ६ को सीमावर्ती कटान खोलाको बगरमुनि गाडेर लुकाइएको अवस्थामा प्रहरीले एक टनभन्दा बढी गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार मंगलबार बिहान प्रहरीले बालुवामुनि लुकाइएको ३८ बोरा गाँजा फेला पारेको हो, जसको कुल तौल १ हजार १ सय २० किलो रहेको छ।
डिएसपी योगराज खतिवडाले तस्कर समूहले भारततर्फ लैजानका लागि सीमावर्ती क्षेत्रमा गाँजा लुकाएर राखेको प्रारम्भिक अनुमान गरिएको बताए। “चाकलुसी गरेर खोलाको बगरमुनि गाडिएको अवस्थामा गाँजा फेला परेको हो, अनुसन्धान जारी छ,” उनले जानकारी दिए।
बरामद भएको स्थान भारतको सीमाबाट निकै नजिक पर्छ, जसले सीमावर्ती क्षेत्रमा लागुऔषध कारोबार कति जटिल रूप लिँदै गएको छ भन्ने देखाउँछ।
हालसम्म गाँजा गाड्ने वा तस्करी योजनामा संलग्न कसैको पहिचान खुल्न सकेको छैन। यद्यपि, प्रहरीले यस घटनामा अन्तरप्रादेशिक तस्करी गिरोहको संलग्नता रहेको ठानी अनुसन्धान अगाडि बढाएको छ।


प्रतिक्रिया