
श्रेणी : अपराध
बीरगन्ज,०३ साउन । जिल्ला प्रहरी कार्यालय बाराले लागूऔषध गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–७, मलाही टोल निवासी ३४ वर्षीय धर्मेन्द्र सहनी मलाहा हुन् ।
प्रहरीका अनुसार साउन २ गते प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा चेकजाँचको क्रममा ना.८ ख ७३४६ नम्बरको यात्रुवाहक बसमा सवार सहनीलाई पक्राउ गरेको हो। प्रहरी टोलीको कमान्ड प्रहरी नायब निरीक्षक बब्बी बम्जनले गरेका थिए।
चेकजाँचको क्रममा सहनीले बोकेको कालो झोलामा शङ्का लागेर तलासी गर्दा १० किलो ७७८ ग्राम गाँजा फेला परेको बाराले जनाएको छ। गाँजा झोलाभित्र राम्ररी लुकाएर राखिएको अवस्थामा फेला परेको थियो।
प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ। गाँजा ओसारपसारको शृङ्खलाबद्ध अनुसन्धान गरिने पनि बाराका प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्।
प्रहरीका अनुसार पछिल्लो समय नारायणघाट–बीरगन्ज रुटलाई लागूऔषध ओसारपसारको मार्गको रूपमा प्रयोग गर्ने प्रयास बढ्दो अवस्थामा देखिएको छ, जसको निगरानीलाई अझ कडा बनाइने भएको छ।


प्रतिक्रिया