
श्रेणी : मधेस
बीरगन्ज, २ चैत्र । मधेसमा होली पर्व मनाउने क्रममा विभिन्न सवारी दुर्घटनामा परी ९९ जना घाइते भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार, शुक्रबार दिनभर प्रदेशभर ३५ वटा सवारी दुर्घटना भएका छन् ।
प्रदेशका ८ वटै जिल्लामा सवारी दुर्घटना भएका छन् । तीमध्ये सर्लाही र महोत्तरीमा सबैभन्दा धेरै ९–९ वटा दुर्घटना भएका छन्। यस्तै, रौतहटमा ६, सप्तरीमा ४, पर्सा, धनुषा, सिरहा २–२ तथा बारामा एउटा दुर्घटना भएको प्रहरीको रेकर्ड छ ।
प्रदेश प्रहरी प्रवक्ता शान्तीराज कोइरालाका अनुसार, घाइते हुनेहरूमा सबैभन्दा बढी धनुषाका ४३ जना घाइते भएका छन् भने महोत्तरीमा १९, सर्लाहीमा १४, रौतहटमा ८, सप्तरीमा ७, पर्सामा ५, सिरहामा २ र बारामा १ जना घाइते भएका छन् ।
प्रदेश प्रहरीले होली पर्व मनाउने क्रममा शान्ति सुरक्षा खल्बलाउने प्रयास गरेको आरोपमा ५७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये २४ जना सर्लाही, ११ जना पर्सा, ९ जना महोत्तरी, ७ जना सिरहा, ४ जना बारा र २ जना धनुषाका रहेका छन्। पक्राउ परेकाहरूलाई उनीहरूको गल्तीअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।
होलीको बहानामा ट्राफिक नियम उल्लंघन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३१७ सवारीसाधनलाई कारबाही गरिएको छ । ओभर स्पिड, हेलमेट नलगाउनेजस्ता नियम मिच्ने ३१७ सवारीलाई ‘होल्ड’ गरिएको थियो । जसमा ७ वटा चार पाङ्ग्रे तथा बाँकी सबै दुई पाङ्ग्रे सवारी रहेका प्रहरीको तत्थांकमा उल्लेख छ ।

प्रतिक्रिया