वीरगन्ज :

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन ठप्प: विद्युत् संकट र उपकरण मर्मतले अन्योलता बढ्यो

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
3.0kViews
1401 Shares

मकवानपुर,२० पुस ।  देशकै ठूलो सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग करिब तीन महिनादेखि ठप्प अवस्थामा रहेको छ। उत्पादन कहिले नियमित हुन्छ भन्ने अझै स्पष्ट नभएको उद्योग व्यवस्थापनले जनाएको छ।

उद्योगले उपकरण मर्मत र नयाँ उपकरण जडान गर्न सिमेन्ट उत्पादन बन्द गरेको थियो। तर, विद्युत् आपूर्तिको अभावका कारण काममा ढिलाइ भइरहेको छ। महाप्रबन्धक वसन्तराज पाण्डेका अनुसार नेपाल विद्युत् प्राधिकरणले उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आपूर्ति गर्न नसकेका कारण उत्पादन सुरु गर्न असम्भव भएको छ।

विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरणसँग बारम्बार वार्ता भए पनि समस्या समाधान हुन सकेको छैन। अपर तामाकोशीबाट विद्युत् आपूर्ति गर्ने सहमति भए पनि हालसम्म नियमितता नआएको उद्योगले जनाएको छ।

पुराना उपकरणहरूको मर्मतका लागि आवश्यक ऊर्जा नपाउँदा उत्पादन प्रक्रिया झन् जटिल बनेको छ। उद्योगमा दैनिक दुई–तीन पटकसम्म विद्युत् कटौती हुने गरेको र यसले मर्मतसम्भारको कामलाई लम्ब्याइरहेको नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए।

विसं २०३३ मा एक अर्ब ५० करोड लागतमा स्थापना भएको यो उद्योगको दैनिक उत्पादन क्षमता १८ हजार बोरा थियो। तर, जीर्ण उपकरणका कारण अहिले १० हजार बोरामात्र उत्पादन भइरहेको छ। कच्चा पदार्थ आपूर्तिका लागि कोइला बोलपत्रमार्फत ल्याउने काम सुरु भए पनि उत्पादन पुनः सञ्चालनका लागि अझै समय लाग्ने देखिन्छ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवालले उद्योगलाई नयाँ प्रविधिबाट सञ्चालन गर्न दीर्घकालीन योजना ल्याउन सरकारलाई आग्रह गरेका छन्। उद्योगले नियमित उत्पादन गर्न नसेकेर बारम्बार ठप्प हुनुले यस क्षेत्रको औद्योगिक वातावरणमा नकारात्मक असर पारेको छ।

हेटौंडा सिमेन्ट उद्योगको पुनर्जीवनका लागि आवश्यक ऊर्जा आपूर्ति र उपकरण अद्यावधिक गर्ने कार्य प्राथमिकतामा पर्नुपर्ने आवाज उठिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *