
श्रेणी : अपराध
हेटौँडा,१० वैशाख । मकवानपुरको गढी गाउँपालिका–२ स्थित धवोडी खोल्सामा मंगलबार राति प्रहरीले १०१ केजीभन्दा बढी गाँजा फेला पारेको छ। गाँजा ह्युमपाइपभित्र प्लास्टिकमा प्याक गरेर लुकाइएको अवस्थामा फेला परेको हो।
स्थानीयवासीले ह्युमपाइपभित्र केही शंकास्पद पोका देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। सूचना पाएसँगै जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली घटनास्थल पुगेर खोजी गर्दा १०१ केजी ३१० ग्राम गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता श्यामु अर्यालले बताए।
प्रहरीका अनुसार गाँजा कसले राखेको हो भन्नेबारे हाल अनुसन्धान भइरहेको छ।
यससँगै मकवानपुरमा लागूऔषध तस्करी र ओसारपसारको गतिविधि बढ्दो क्रममा देखिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको १० महिनामै ४ हजार ३२५ केजी गाँजा र १८ केजी अफिम बरामद गरिसकेको जनाएको छ। सो अवधिमा १७८ जना कारोबारी र भरियालाई पक्राउ गरेर मुद्दा दर्ता गरिएको छ।
प्रहरीले गाँजा लगायतका लागूऔषधको तस्करी नियन्त्रण गर्न निगरानी कडा पारिएको जनाएको छ। बिशेषगरी जंगल, खोला किनार र सुनसान ठाउँमा गाँजा लुकाएर राख्ने प्रवृत्ति बढिरहेकाले प्रहरीले स्थानीयवासीको सहकार्यमा नियमित गस्ती र निगरानी बढाएको छ।

प्रतिक्रिया