श्रेणी : प्रदेश
नवलपुर,२४ पुस । बाक्लो हुस्सु र शीतलहरका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। नवलपरासीको बर्दघाट नगरपालिका-४ स्थित खुर्सानी खोलामा चिप्लो सडकका कारण राति १:३० बजेदेखि बाटो दुवैतर्फ बन्द भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार, चिप्लो सडकका कारण ठूला तथा मालवाहक सवारी साधन सञ्चालनमा समस्या भएको छ। दुईतर्फी सडक अवरोधले २५० भन्दा बढी सवारी साधन जाममा परेका छन्।
सडक सञ्चालनको प्रयास जारी भए पनि बाक्लो हुस्सु र चिप्लोपनका कारण कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। तराईका जिल्लाहरूमा पुस महिनादेखि नै बिहान अवेरसम्म बाक्लो हुस्सु र शीतलहर चल्ने क्रम जारी छ, जसले वृद्धवृद्धा, बालबालिका र यातायातमा ठूलो असर पुर्याएको छ।
सडक सञ्चालनका लागि सबै तहबाट प्रयास भइरहेको भए पनि मौसमका कारण समस्या समाधान गर्न समय लाग्ने अनुमान गरिएको छ। यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन र गैरआवश्यक यात्रा नगर्न पनि अपिल गरिएको छ।
प्रतिक्रिया