
श्रेणी : मधेस
जनकपुरधाम । रौतहटको वृन्दावन नगरपालिका-४ स्थित क्रसर उद्योगमा ११ हजार भोल्टेजको हाई टेन्सन तारबाट करेन्ट लागेर मालवाहक टिपरमा आगो लागेको छ। आगलागीबाट टिपर पूर्ण रूपमा जलेको छ र चालक गम्भीर घाइते भएका छन् ।
घटना बिहीबार बिहान ८ बजेको आसपास भएको हो। लु १ त २८४९ नम्बरको टिपर बालुवा झार्ने क्रममा ११ हजार भोल्टको हाई टेन्सन तारमा छोएर करेन्ट लाग्दा टिपरमा आगो लाग्यो ।
टिपर चालक जयप्रकाश सहनीलाई करेन्ट लागेर गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि गरुडा स्थित निजी अस्पतालमा भर्ना गरिएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार, टिपर चालकले ट्रली फर्काउने क्रममा उक्त हाई टेन्सन तारमा छोएर दुर्घटना घटेको हो ।
प्रहरीले घटना सम्बन्धमा अनुसन्धान जारी राखेको छ ।


प्रतिक्रिया