श्रेणी : BANNER
वीरगंज । हरि खेतान बहुमुखी क्याम्पस वीरगंजका प्रमुख डा. भगवान प्रसाद यादवले अनिवार्य अवकाश पाएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेम प्रकाश (पी.पी) खेतानले डा. यादवलाई उमेर हदको कारण देखाउँदै अनिवार्य अवकाश दिएका हुन् ।
करिब ४ दशकदेखि क्याम्पस प्रमुख रहेका यादवको ठाउँमा किशोरी रायलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको छ । उनी क्याम्पसका सहायक क्याम्पस प्रमुख थिए । अर्को क्याम्पस प्रमुखको व्यवस्था नभएसम्मका लागि रायलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको सञ्चालक समितिका अध्यक्ष खेतानले बताए । निमित्त क्याम्पस प्रमुखका रूपमा रायले क्याम्पस र विद्यार्थीको हकमा काम गर्ने खेतानको विश्वास छ ।
रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ५ कोपवा स्थायी घर भएका किशोरी राय ४९ वर्षका भए । उनले अंग्रेजी विषयमा एमएड गरेका छन् भने समाजशास्त्रमा एम र एलएलबीसम्मको अध्ययन गरेका छन् । उनी १८ वर्षदेखि सहायक क्याम्पस प्रमुखको रुपमा हरिखेतान बहुमुखी क्याम्पस मै कार्यरत थिए ।
दीवंगत बिहारीलाल खेतानले आफ्ना छोरा हरिगोपाल खेतानको स्मृतीमा २०३८ सालमा हरिखेतान क्याम्पसको स्थापना गरेका थिए । ११ जना विद्यार्थीबाट सुरु भएको क्याम्पसमा हाल करिब ४ हजार विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा प्रत्यक्ष रुपमा १ सय ४५ जनाले रोजगारी प्राप्त गरेका छन् ।
पहिलो क्याम्पस प्रमुखको रुपमा डा. भिमचरण थापा र दोस्रो क्याम्प प्रमुखमा डा. कुलानन्द दास थिए भने त्यसपछि करिब २०४० सालमा क्याम्पस प्रमुख बनेका डा. भगवान प्रसाद यादवलाई अहिले अनिवार्य अवकास दिइएको हो ।
क्याम्पस २०३८ सालमा स्थापना भएपनि त्रिविको कार्यकारी परिषद्बाट पारित भएर योजना निर्देशनालयबाट भने २३ जेठ २०७९ मा मात्रै प्रमाणिकरण भएको छ । त्यसअघि क्याम्पसको विधान कहीँकतै पनि दर्ता नरहेको पाइएको छ ।
क्याम्पसमा प्लस टु देखि स्नातकोत्तरसम्म विभिन्न संकायमा पठनपाठन हुँदै आएको छ । प्लस टु मा व्यवस्थापन, कानुन, विज्ञान, शिक्षा र मानविकी संकायको अध्यापन हुन्छ भने स्नातकमा एलएलबी, बिबिएस, बिएड र बिए पढाई हुने गरेको नवमनोनित निमित्त क्याम्पस प्रमुख किशोरी रायले जानकारी दिए ।
उनकाअनुसार स्नातकोत्तरमा एमबिएसको अध्यापन भइरहेको छ भने एम एड, एमएआरडी र समाज शास्त्रमा स्विकृत प्राप्त भएको छ ।
अवकाश प्राप्त डा. यादवले क्याम्पसलाई विधि विधान विपरीत सञ्चालन गरेको आरोप लाग्दै आएको थियाे । कालिका टाईम्स
प्रतिक्रिया