वीरगन्ज :

हरिखेतान बहुमुखी क्याम्पसमा यादवको अध्यक्षतामा स्ववियु गठन

श्रेणी : मधेस

6 days
Pradeep Sah
3.0kViews
1809 Shares

वीरगंज (पर्सा), ८ पुस । वीरगन्जस्थित हरिखेतान बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठन गरिएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को अग्रसरतामा क्याम्पसमा आयोजित विद्यार्थीहरूको भेलाबाट ११ सदस्यीय स्ववियु गठन गरिएको हो ।

भेलाले सुरज यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । स्ववियुको उपाध्यक्षमा रञ्जन गुप्ता, सचिवमा आकाश कलवार, सह सचिवमा प्रिन्स साह कानु तथा कोषाध्यक्षमा निभा कुमारी सर्राफ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा इरशाद आलम, दिपेश ठाकुर, रामप्रवेश यादव, चन्दन शर्मा, सुदिप राज ठाकुर र मुस्कान पटेल रहेका छन् ।

कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका स्ववियु सभापति तथा नेपाल विद्यार्थी संघको स्ववियु परिषदका केन्द्रीय अध्यक्ष राजकुमार यादवले हरिखेतान बहुमुखी क्याम्पसमा विद्यमान समस्या र बेथितिप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले क्याम्पसमा देखिएका विभिन्न समस्याको तत्काल समाधानका लागि सम्बन्धित निकायलाई जानकारी गराइसकेको उल्लेख गर्दै समयमै समाधान हुने विश्वास व्यक्त गरे ।

‘हरिखेतान बहुमुखी क्याम्पसमा भइरहेको बेथितीप्रति मेरो ध्यानाकर्षण भएको छ । यहाँका समस्याको छिट्टै समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ,’ उनले भने ।

यस्तै भेलाका प्रमुख अतिथि नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मुनराज तिवारीले विद्यार्थी हित संरक्षण, शैक्षिक गुणस्तर सुधार तथा क्याम्पसको समग्र विकासका लागि संगठित विद्यार्थी समूहको महत्वपूर्ण भूमिका रहने बताए । उनले नवगठित स्ववियुलाई जिम्मेवार र सक्रिय भएर विद्यार्थीका पक्षमा काम गर्न आग्रह गरे ।

नवगठित स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सुरज यादवले क्याम्पसमा रहेका शैक्षिक, प्रशासनिक तथा विद्यार्थीसम्बन्धी समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीको आवाजलाई प्रभावकारी रूपमा उठाइने बताए । हरिखेतान बहुमुखी क्याम्पसमा पहिलो पटक स्ववियु गठन भएपछि विद्यार्थीहरूमा उत्साह थपिएको छ भने क्याम्पस सुधारका अपेक्षा पनि बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *