श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौं,१४ माघ । प्यालेस्टिनी सशस्त्र समूह हमासले उत्तरी गाजाका मानिसहरूलाई फर्कन अनुमति दिने सर्तमा थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार घोषणा गर्दै हमासले आगामी दिनमा ६ जना इजरायली बन्धकलाई रिहा गर्ने र त्यसपछि उत्तरी गाजाका बासिन्दालाई आफ्नो घर फर्कन दिने बताउनुभएको छ। रिहा गरिने बन्धकमध्ये एकजना अर्बेल येहुद रहेका छन् भन्ने बीबीसीले जनाएको छ।
गाजा युद्धविराम सम्झौताको क्रममा हालसम्म हमासले सात इजरायली बन्धकलाई रिहा गरेको छ। बन्धक साटासाटअन्तर्गत इजरायलले २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ।
तर, इजरायली नागरिक अर्बेल येहुदलाई शनिबार रिहा नगरिएपछि इजरायलले हमासमाथि सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको थियो। सम्झौताअनुसार पहिले इजरायली नागरिकको रिहाइ गरिनुपर्नेमा यो शर्त पूरा नभएको इजरायली अधिकारीहरूले दाबी गरेका छन्।
हमासद्वारा शनिबार चार जना बन्धक रिहा गरिए पनि थप बन्धकको रिहाइ प्रक्रियाले इजरायल र हमासबीचको तनाव कायमै राखेको छ।
प्रतिक्रिया