श्रेणी : अपराध
जनकपुर,२९ पुस । ४० वर्षअघि हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले लामो खोजीपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४ सुन्दरपुरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको साविक ब्रम्हपुरी गाउँपालिका–९ (हाल राजदेवी नगरपालिका–९) निवासी ५६ वर्षीय राजु सिंह रहेका छन्।
राजु सिंहले १६ वर्षको उमेरमा हत्या गरेको आरोपमा रौतहट जिल्ला अदालतबाट २० वर्षको कैद सजाय सुनाइएको थियो। हत्यापछि कानुनी कारबाहीबाट जोगिन उनले धर्म र नाम परिवर्तन गरी आफूलाई “महमद सेराज” को नाममा चिनाउँदै आएका थिए। यही नामबाट उनले नागरिकता र मतदाता परिचयपत्रसमेत बनाएका थिए।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले पक्राउ गरेको हो। पक्राउपछि उनलाई आइतबार रौतहट जिल्ला अदालतमा पेश गरिएको छ।
राजु सिंहले फरार रहेकै समयमा सर्लाहीमा घरबार बसालेर दुई विवाह गरेका थिए। पहिली पत्नी सलिना खातुनबाट उनका ६ सन्तान छन्, जो हाल काठमाडौँमा बस्दै आएको पाइएको छ। स्थानीयको भनाइअनुसार, पत्नीसँग मनमुटाव भएपछि सिंहले दोस्रो विवाह गरी सफिना खातुनसँग बस्न थाले। दोस्रो पत्नीबाट पनि उनका चार सन्तान भएको खुलेको छ।
प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार, “राजु सिंहले धर्म र नाम परिवर्तन गरेर सर्लाहीमा लुकेर बसेको सूचना प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिइयो। उनी लामो समयदेखि नयाँ पहिचानमा बसेर कानुनी कारबाहीबाट बच्न सफल भएका थिए।”
राजु सिंहले ४० वर्षअघि गरेको हत्याको पीडितको पहिचान भने प्रहरीले खुलाउन बाँकी छ। यस विषयमा थप अनुसन्धान जारी रहेको जनाइएको छ।
प्रतिक्रिया