वीरगन्ज :

स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरि ऐन बनाउन सरकारलाई दबाब दिन्छौंः महामन्त्री थापा

श्रेणी : समाचार

2 years
birgunj report
20Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्ला दिनमा कार्यकारीको तजबिजमा बिदा दिने क्रम सीमाहीन भएको बताएका छन् । सरकारले जनयुद्ध दिवसका अवसरमा बिदा दिएको सन्दर्भमा सामाजिक संजालमार्फत महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, आज फेरि बिदा ! पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको छ। कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि। झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन्। यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो। सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो !’

महामन्त्री थापाले कार्यकारीको यस्तो स्वेच्छाचारितालाई नियमन गर्न उसैलाई जिम्मा दिनुको अर्थ नहुने बताएका छन् । उनले भनेका छन्, ‘कार्यकारीको यस्तो स्वेच्छाचारितालाई नियमन गर्न उसैलाई जिम्मा दिनुको के अर्थ? कार्यकारी स्वेच्छाचारितालाई रोक्ने व्यवस्थापिकाले हो। यो विषयमा छुट्टै कानुन बनाएर नियमन र व्यवस्थित गर्दा मात्र यो रोक्न सकिन्छ। न्युजिल्यान्ड, जापान लगायत विश्वका थुप्रै देशहरूमा सार्वजनिक बिदा सम्बन्धी कानुन छ, त्यसैका आधारमा बिदा तय गरिन्छ। नेपालमा पनि कानुन बनाएर नियमन नगर्ने हो भने यस्तो स्वेच्छाचारिता झन् बढ्दै जाने निश्चित छ।’

थापाले कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरि ऐन बनाउन सरकारलाई दबाब बढाउने समेत बताएका छन् । उनले भने, ‘अब संसदमा तत्कालै गर्नुपर्ने विषयमा यसलाई राखौँ। सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरि ऐन बनाउन सरकारलाई दबाब बढाऔँ, अन्यथा सांसदहरू आफैँले कानुन निर्माणको अग्रसरता लिउँ । यसका लागि नेपाली कांग्रेसले पहलकदमी लिनेछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *