
श्रेणी : BANNER
बीरगन्ज,०९ भदाै । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल आज दिउँसो हैजा प्रभावित क्षेत्र बीरगन्जको स्थलगत अनुगमनका लागि जाँदै छन्। समुदायस्तरमै हैजा फैलिँदै गएपछि मन्त्री पौडेल दिउँसो २ बजे टोलीसहित बीरगन्ज जाने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।
यसअघि खानेपानी मन्त्री बीरगन्ज पुगेर हैजा नियन्त्रणबारे जानकारी लिएका थिए भने स्वास्थ्य सेवा विभागको टोलीसहित मन्त्री यादव पनि स्थलगत अनुगमनमा संलग्न भएका थिए।
बीरगन्जमा पुगेर मन्त्री पौडेलले नारायणी अस्पतालमा उपचाररत हैजाका बिरामीहरूको स्वास्थ्य अवस्था र अस्पतालले प्रदान गरिरहेको स्वास्थ्य सेवा अवलोकन गर्नेछन्। साथै, प्रकोप नियन्त्रण तथा रोकथामका लागि भइरहेका प्रयासबारे वीरगञ्ज महानगरपालिकाका मेयर र सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार, शुक्रबारयता बीरगन्जमा ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ। हाल विभिन्न अस्पतालमा १६१ जना झाडापखलाका बिरामी उपचाररत छन्, जस मध्ये ७१ जनामा हैजा पोजिटिभ देखिएको हो।


प्रतिक्रिया