
श्रेणी : प्रदेश
काठमाडौं,०६ भदौ । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो चौथो स्थापना दिवस भदौ ९ गते देशव्यापी रूपमा मनाउन निर्देशन दिएको छ।
पार्टीको केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार, पार्टीका सबै जिल्ला, प्रदेश, स्थानीय कमिटी र जनवर्गीय संगठनलाई रचनात्मक कार्यक्रम गरेर दिवस मनाउन भनिएको छ। साथै, विदेशस्थित संगठनहरूलाई पनि सोही अनुरूप कार्यक्रम गर्न आह्वान गरिएको छ।
स्थापना दिवसका अवसरमा सरसफाइ अभियान, वृक्षारोपण, रक्तदान, अन्तरक्रिया, स्मारिका विमोचन र शुभकामना आदान–प्रदानलगायत कार्यक्रम सञ्चालन गरिनेछ।
केन्द्रीय कार्यालयले काठमाडौंमा आयोजना गर्ने विशेष कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरिएको छ। सो कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले “नेपाली कम्युनिष्ट आन्दोलनको योगदान र विश्व कम्युनिष्ट आन्दोलनको भूमिका” विषयमा प्रस्तुति दिनेछन्।
पार्टीका शीर्ष नेताहरूले हालको राजनीतिक अवस्था, वामपन्थी शक्तिबीचको ध्रुवीकरण, र कम्युनिष्ट नेतृत्वमा देखिएका वैचारिक चुनौतीबारे पनि समीक्षा गर्ने कार्यक्रम तय भएको छ।
नेकपा (एकीकृत समाजवादी) २०७८ साल भदौ ९ गते, तत्कालीन नेकपा (एमाले)सँग वैचारिक मतभेद भएपछि, कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने उद्देश्यले स्थापना गरिएको हो।


प्रतिक्रिया