
श्रेणी : मधेस
वीरगंज, २१ साउन – वीरगंज महानगरपालिका–१६ स्थित नगवामा स्थानीय महिलाहरूले हिन्दू परम्पराअनुसार डिप बोरिङको पूजा गरी खानेपानी वितरण कार्यको औपचारिक शुभारम्भ गरेका छन्। स्थानीय अगुवा तथा समाजसेवीहरूको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा महिलाहरूले धार्मिक विधिपूर्वक पूजा गरेका थिए।
उक्त अवसरमा जनता समाजवादी पार्टी वीरगंज महानगर समितिका अध्यक्ष अरुण यादव लगायतको पनि उपस्थिति रहेको थियो। तराई–मधेश क्षेत्रमा खानेपानीको मुहानलाई ‘कोइला माता’को रूपमा पूजा गर्ने परम्परा रहिआएको छ। पूजापछि महिलाहरूले मिठाई वितरण गर्दै खानेपानी मन्त्री प्रदीप यादवप्रति आभार व्यक्त गरेका थिए ।
गणेश टोलका स्थानीयवासीहरू भूसतहको पानी सुकेपछि लामो समयदेखि खानेपानीको चरम अभाव झेलिरहेका थिए। चापाकलहरू निस्क्रिय भएपछि समस्या समाधानका लागि स्थानीय युवा नेता अरुण यादवले खानेपानी मन्त्री प्रदीप यादवसँग डिप बोरिङको माग गरेका थिए।
मन्त्री यादवको निर्देशनमा जडान गरिएको डिप बोरिङसँगै खानेपानीको समस्या समाधान भएपछि स्थानीयवासी हर्षित भएका छन्। यो योजनाबाट कम्तीमा ६० घरधुरीलाई स्वच्छ खानेपानी उपलब्ध हुने अपेक्षा गरिएको छ। साथै, २,००० लिटर क्षमताको पानी ट्याङ्की पनि जडान गरिनेछ, जसले पानी भण्डारण तथा वितरण प्रक्रियालाई थप सहज बनाउने विश्वास गरिएको छ।
स्थानीय पाशुपति देवी जयसवालले भनिन्, “खानेपानीको समस्या हाम्रा लागि ठूलो पीडा बनेको थियो। मन्त्री प्रदीप यादवज्यूको सक्रियताले हाम्रो जीवनमा सहजता ल्याएको छ। हामी उहाँप्रति कृतज्ञ छौँ।”
त्यसैगरी अर्का स्थानीय बासिन्दा राहुल गिरीले पनि मन्त्री यादवको तत्परताको प्रशंसा गर्दै समुदायमा सकारात्मक परिवर्तन आएको बताए।
मन्त्रीका स्वकीय सचिवका अनुसार, मन्त्री यादवको कार्यकालमा हालसम्म पर्सा जिल्लाभरि ३०० भन्दा बढी स्थानमा डिप बोरिङ जडान भइसकेका छन्, जसबाट हजारौँ परिवारले स्वच्छ खानेपानी पाउने सुविधा प्राप्त गरेका छन्।
वीरगंज महानगरपालिकाका विभिन्न वडाहरूमा रहेका अधिकांश चापाकल एकाएक सुकेपछि मन्त्री यादवले प्रभावित क्षेत्रहरूको स्थलगत अवलोकनसमेत गरेका थिए। उनले पानीको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
हाल वीरगंज महानगर क्षेत्रका विभिन्न स्थानहरूमा तीव्र रूपमा डिप बोरिङ जडानको कार्य अघि बढिरहेको छ। बाँकी केही ठाउँमा देखिएको समस्या समाधानका लागि पनि प्रक्रिया सुरु भइसकेको छ। मन्त्री यादवका स्वकीय सचिव गुप्ताका अनुसार, आगामी केही दिनभित्र वीरगंज महानगरपालिकामा देखिएको खानेपानी संकट सतप्रतिशत समाधान हुने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया