वीरगन्ज :

सोझै विश्वकप छनोट खेल्न आज नेपाल युएईसँग भिड्दै

श्रेणी : खेलकुद

2 years
birgunj report
24Views
0 Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) सिरिज अन्तर्गत अन्तिम खेलमा आज नेपाल र युएई खेल्नेछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान ९ः३० बजेबाट सुरू हुने खेल नेपालका लागि फाइनल सरह हो ।

युएई विरूद्धको खेल जितेमा नेपाल विश्वकप लिग–२ को तेस्रो स्थानमा उक्लँदै तीन महिनापछि ९ जुनमा जुलाई जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल क्वालिफायर मा सोझै छनोट हुनेछ।

पाँच वर्ष अगाडि एकदिवसीय मान्यता पाएयता नेपालका लागि यो सबैभन्दा ठूलो सफलतासमेत हुनेछ। एक महिना अगाडिसम्म एकदिवसीय अन्तर्राष्ट्रियु राष्ट्रको मान्यता जोगाउनसमेत मुस्किल रहेको नेपाल शीर्ष तीनमा रहेर टेष्ट राष्ट्र सम्मिलित विश्वकप क्वालिफायरमा छनोट हुन एक कदम पछि छ।

कुल ७ टिम सम्मिलित प्रतियोगितामा नेपाल चौथो स्थानमा छ। ३५ खेल खेलेको नेपालले १८ मा जित र १५ मा हारसहित ३८ अंक जोडेको छ। नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ। यदि नेपाल विजयी भएमा ४० अंक हुनेछ। तर कुनै कारण खेल नतिजाविहीन हुँदै अंक बाँड्नुपर्ने अवस्था आए नेपाल र नामिबिया दुवैको ३९–३९ हुनेछ। नामिबिया सर्वाधिक जित प्रतिशतको कारण सोझै विश्वकप छनोटमा पुग्नेछ।

वर्षा वा कुनै कारण खेलको नतिजा नआए पनि नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ। नेपालले गुमाउँदा नामिबिया सोझै विश्वकप छनोटमा पुग्नेछ। त्यसैले नामिबियालाई उछिनेर तेस्रो स्थानमा उक्लँदै ग्लोबल छनोटमा प्रवेश पाउन नेपाललाई युएईविरूद्ध निश्चित जित आवश्यक पर्नेछ।

यदि युएईसँग पराजित भएमा भने नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने एसोसियट राष्ट्रहरू सम्मिलित ‘क्वालिफायर प्लेअफ’ खेल्नुपर्ने हुन्छ। यता युएईलाई भने अब विश्वकप छनोट खेल्न प्लेअफ क्वालिफायरमा शीर्ष दुईमा पर्नुपर्ने हुन्छ। ओडिआई मान्यता जोगाउन क्यानडा र जर्सीलाई पछि पार्नुपर्ने हुन्छ।

हालसम्म नेपाल र युएईबीच १२ वटा ओडिआई खेल भएका छन्। जसमा समान ६ खेलमा जित र हार छ। नेपालले पछिल्ला दुवै खेलमा युएईलाई हराएको छ। पहिलो खेलमा युएईलाई नेपालले ७१ रनमा अल आउट गरेको थियो।

जितको लागि २ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमा सकेटिएको थियो। पछिल्लो समय उच्च फर्ममा रहेको नेपालले खेलेका ११ मध्ये १० खेलमा जित हात पारेको छ। जसमध्ये युएईसँग खेलेका लिग २ का ५ खेलमध्ये २ वटामा मात्र जित हात पारेको छ।

नेपालको टोली
रोहित पौडेल (कप्तान) दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी

के हो क्वालिफायर ?

आगामी वर्ष भारतमा हुने एक दिवसीय विश्वकप (ओडिआई) खेल्ने १० मध्ये अन्तिम २ टोली छानिने छनोट प्रतियोगिता हो– ग्लोबल क्वालिफायर। क्वालिफायरमा १० राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ र त्यसबाट शीर्ष २ टोलीले विश्वकप खेल्ने अवसर पाउनेछन्।

सहभागी टोलीहरू विभिन्न तीन माध्यमबाट छनोट हुनेछन्। सुपर लीगको पुछारका पाँच राष्ट्र, विश्वकप लीग–२ को शीर्ष तीन राष्ट्र र प्ले अफका शीर्ष दुई राष्ट्रले यो छनोट खेल खेल्नुपर्नेछ।

आइसीसीका पूर्ण सदस्य १२ टेस्ट खेल्ने राष्ट्र र विश्व क्रिकेट लिग च्याम्पियन नेदरल्यान्ड्स सम्मिलित प्रतियोगिता हो–सुपर लिग। नेदरल्यान्ड्सले आइसीसी क्रिकेट विश्वकप लिग च्याम्पियनसिप जितेको आधारमा सुपर लिग खेल्ने अवसर पाएको हो। यी १३ मध्ये घरेलु टोलीसहित शीर्ष आठ राष्ट्र सोझै विश्वकपमा छनोट हुनेछन् भने पुछारमा रहेको पाँच टोली क्वालिफायरमा झर्नेछन्।

आयोजक राष्ट्रको नाताले भारत स्वतः विश्वकपमा छानिएको छ भने अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, न्युजिल्यान्ड र पाकिस्तानसहित ७ राष्ट्र विश्वकपमा पुगिसकेका छन्।

यो लिगबाट अब श्रीलङ्का, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र आयरल्यान्डमध्ये एक टोलीले विश्वकपमा सोझै स्थान बनाउनेछ। बाँकी तीन टोलीसहित आयोजक जिम्बाब्वे र नेदरल्यान्ड्सले क्वालिफायर खेल्नुपर्नेछ।

यसमा लिग २ का शीर्ष तीन टोली स्टकल्याण्ड, ओमान र नेपाल तथा नामिबियामध्ये एक टोलीले प्रतिश्पर्धा गर्न पाउँछन्। बाँकी २ टोली प्लेअफ क्वालिफायरबाट आउनेछन्।

छनोटमा कुल १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। जसबाट हरेक समूहबाट शीर्ष तीन तीन टोली सुपर सिक्समा स्थान बनाउँछन्। सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली विश्वकपमा पुग्नेछन्। शीर्ष दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *