श्रेणी : स्वास्थ्य
पाँचथर । जिल्ला अस्पताल पाँचथरले बिरामीको मागका आधारमा सेवाहरू विस्तार गर्दै लगेको छ । जिल्ला अस्पतालले गत पुस महिनाबाट पाँच नयाँ सेवा सञ्चालनमा ल्याएको हो । चिकित्सक थप गर्दै अस्पतालले नयाँ सेवा विस्तार गरेको जनाएको छ । थपिएका सेवामा हाडजोर्नी तथा नशाको रोगको बहिरङ्ग (ओपिडी) तथा शल्यक्रिया, जनरल सर्जरी बहिरंग , जनरल सर्जरीसम्बन्धी शल्यक्रिया र एनेस्थेसिया (शल्यक्रिया गर्दा विरामी बेहोस् बनाउने) छन् ।
पचास शय्या सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण भएपछि अस्पतालले आन्तरिक स्रोतबाट नयाँ चिकित्सक भर्ना गरेर सेवा विस्तार गरेको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बेका अनुसार आन्तरिक स्रोतबाट चिकित्सकहरू नियुक्त गरी नयाँ सेवा विस्तार गरिएको हो । अस्पतालले गत महिनाबाट विशेषज्ञ चिकित्सक जनरल सर्जरीतर्फ डा प्राञ्जलचन्द्र पौडेल, हाडजोर्नी तथा नशा रोगतर्फ डा देउमान लिम्बू र एनेस्थेसियोलोजिस्ट डा गणेश वनलाई नियुक्त गरेको जिसस प्रमुखआङ्देम्बेले जानकारी दिए ।
जिल्ला अस्पतालले हाल आकस्मिक सेवा, प्रयोगशाला सेवा, रेडियोलोजी सेवा, फार्मेसी सेवा, प्रसूति सेवा, अन्तरङ्ग सेवा, दन्त रोग सेवा, मातृ शिशु र खोप सेवा, सरुवा कीटजन्य तथा महामारी रोग सेवा, क्याबिन सेवा, आँखाको बहिरङ्ग सेवा र एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ । यस्तै कार्यक्रम सेवाका रूपमा यस अस्पतालले निःशुल्क नवजात शिशु सेवा, निःशुल्क प्रसूति सेवा, स्वास्थ्य बीमा सेवा, सामाजिक सुरक्षा सेवा, लैङ्गिक सङ्कट व्यवस्थापन एकद्वार सेवा र निःशुल्क गर्भपतन सेवा सञ्चालन गरिरहेको छ । यस्तै बाल रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनलाई निरन्तरता दिने प्रयास भइरहेको जिससप्रमुख आङ्देम्बेले बताए ।
थप भएका सेवाबाट साना गाँठागुठी फाल्ने, बोसो जमेको फाल्ने, गहिरो चोटपटक लागेका घाउहरूको उपचार गर्ने, पोलेको घाउहरूको उपचार, हाइड्रोसिल, मलद्वारका रोगहरू, हर्निया, एपेन्डिक्सको शल्यक्रिया, आन्द्रासम्बन्धी समस्याको शल्यक्रिया र उपचार, पित्तथैलीको शल्यक्रिया, मासु पलाएको, अण्डकोषको शल्यक्रिया, छाला टाल्नेलगायत स–साना शल्यक्रियाका सेवा सञ्चालन गर्न सकिने अस्पतालका चिकित्सक डा प्राञ्जलचन्द्र पौडेलले जानकारी दिए । निकट भविष्यमा इन्डोस्कोपी सेवा सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
यस्तै हाडजोर्नी तथा नशा रोगको सेवातर्फ हड्डी भाँचिएको, हड्डी टुटेको फुटेको, स्टिल राख्ने, झिक्नेसहित धेरै सेवा प्रवाह गर्न सकिने हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा देउमान लिम्बूले बताए । विशेषतः पूर्वी पहाडमा हाडजोर्नीको समस्याका धेरै बिरामी हुने भए पनि उपचारका लागि तराईका जिल्लामा पुग्नुपर्ने र ठूलो धनराशि खर्च हुने अवस्था अन्त्य गर्न रोक्ने आफूहरूको प्रयास हुने बताए । “सकेसम्म जिल्ला अस्पतालमा देखाएर मात्रै अन्यत्र जान बिरामीलाई सुझाव दिन्छौँ”, डा लिम्बूले भने ।
पूर्वी पहाडका पाँचथरसहित ताप्लेजुङ र तेह्रथुमका बिरामीले समेत सेवा लिने गरेको पाँचथर अस्पतालले १५ शय्या सञ्चालनको अनुमति पाए पनि हाल ३५ शय्यामा सेवा दिइरहेको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत दुई वर्षअघि नै यस अस्पताललाई एक सय शय्यामा विस्तार गर्ने घोषणा गरेको थियो भने गत वर्ष ५० शय्या सञ्चालनमा ल्याउने घोषणा गरेको थियो ।
यद्यपि प्रदेशले गरेको घोषणा कार्यान्वयन भने हुन सकिरहेको छैन । शय्या विस्तारका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण नै पूरा भइनसकेको जिसस प्रमुख आङ्देम्बेको भनाइ छ । “बजेटसहित प्रदेश सरकारबाट योजना अघि बढाइएमात्रै शय्या विस्तारको काम सम्पन्न हुनसक्छ”, उनले भने ।
प्रतिक्रिया