
श्रेणी : प्रदेश
काठमाडौं,१२ जेठ । भिजिट भिसाको आवरणमा मौलाएको मानव तस्करीको सञ्जालले पछिल्ला साढे तीन वर्षमा करिब २० हजार नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै घर फर्किन बाध्य बनाएको छ। गिरोहको ‘सेटिङ’मा नपरेका यात्रुहरू सुरक्षाका सबै चरण पार गरे पनि अध्यागमनको फन्दामा परेका छन्।
गृह मन्त्रालयमा नेतृत्व सम्हालेका बालकृष्ण खाण, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र रमेश लेखकका कार्यकालमा २० हजार ४९६ यात्रु ‘बोर्डिङ पास’ लिइसकेपछि अध्यागमनमै रोकिन बाध्य भए। कारण — उनीहरू तस्करी गिरोहसँगको ‘सम्झौता’मा थिएनन्।
अभियानका क्रममा उजागर भएको तथ्यले ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स कर्मचारी, अध्यागमन अधिकारीदेखि गृह मन्त्रालयका उच्च पदस्थसम्म ‘डिल’मा रहेको देखाएको छ। यात्रुहरूले दुबई, मलेसिया, कतार, ओमान, कुवेत, युरोप, अफ्रिकाजस्ता देश जानका लागि ‘भिजिट भिसा’ लिए पनि सेटिङ नभएको खण्डमा उनीहरूलाई “कागजात अपूरो” भनेर फर्काइन्छ।
त्यति मात्र होइन, यस्ता यात्रुहरू एकतर्फी टिकट, होटल बुकिङ र अन्य तयारीमा लाखौं रुपैयाँ खर्च गरेर विमानस्थल आइपुग्छन्। तर तस्करी गिरोहलाई पैसा नबुझाएका कारण कानुनको आडमा ठगिन्छन्।
सेटिङमा छिरेकालाई सहजै पार गराउने तर त्यस बाहेककाको हकमा ‘कागजात नमिलेको बहाना’ मा अध्यागमनबाटै फिर्ता गरिदिँदा हजारौं मानिस यात्राबाट वञ्चित हुने गरेका नेपाल प्रहरीले यसअघि नै गरेको अनुसन्धानबाट पुष्टि भइसकेको छ ।
अध्यागमन विभागको २०२२ देखि २१ मे २०२५ सम्मको अभिलेखअनुसार यो अवधिमा विभिन्न मुलुकमा भिजिट भिसामा जानेको संख्या ७ लाख ५५ हजार ७ जना छ । यीमध्ये २०२२ मा १ लाख ७७ हजार ३ सय १०, २०२३ मा २ लाख ४ हजार ५ सय ३५, २०२४ मा २ लाख ७६ हजार ६ सय २४ र २०२५ को मे २१ सम्ममा ९६ हजार ५ सय ३८ जना भिजिट भिसामा विदेश उडेका छन् । यो आँकडाअनुसार २०२२ मा दैनिक सरदर साढे ७ सय, २०२३ मा दैनिक सरदर साढे ५ सय, २०२४ मा दैनिक सरदर ५ सय नेपाली भिजिट भिसामा जाने गरेको देखिन्छ ।
गिरोहको ‘सेटिङ’ बाट भिजिट भिसामा जानेले युरोपका लागि ३ लाखसम्म र खाडीसहित एसियाका विभिन्न मुलुकका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँसम्म तिर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ ।
गिरोहलाई बुझाइएको रकमको हिस्सा अध्यागमनदेखि गृह मन्त्रालयको उच्च पदस्थसम्मै जाने गरेको पक्राउ परेका केही आरोपितले खुलाएका छन् । भिजिट भिसामा विदेश उड्नेमध्ये ७० प्रतिशतभन्दा बढी यात्रु गिरोहको नेटवर्कबाट जाने गरेको अनुसन्धानमा संलग्न अख्तियार र प्रहरीका अधिकारी बताउँछन् ।
रकम नबुझाई यात्रा तय गर्नेहरू कर्मचारी तथा ‘गिरोह’ कै केरकारमा परेर विमानस्थलबाटै फर्काइएका छन् । अध्यागमनको आँकडाअनुसार २०२२ मा ४ हजार २ सय ९३, २०२३ मा ४ हजार ८ सय ८३, २०२४ मा ९ हजार ५ र २०२५ को मे २१ सम्म २ हजार ३ सय १७ जना भिजिट भिसावाहक अध्यागमनबाटै फर्काइएका हुन् ।
भिजिट भिसामा लगाइएको कठोर प्रावधानपछि गिरोहको योजनामा जानेहरू बढेको र अब यस्ता विवादित प्रावधान नहटाएसम्म यो समस्या नरोकिने अवस्था रहेको अनुसन्धानरत स्रोतको भनाइ छ । कडा प्रावधानका कारण ट्राभल एजेन्सी, एयरलाइन्स, कर्मचारी, प्रहरी र बिचौलियाबीच रकम लेनदेन हुने र त्यही सेटिङमा जानेको सूची तय हुने गरेको अनुसन्धानबाटै खुलिसकेको छ ।
गिरोहबाट यात्रा गरिएकाहरूले गन्तव्य अनुसार ५० हजारदेखि ३ लाख रुपैयाँसम्म बुझाएका छन्। ती रकमको हिस्सा अध्यागमन, ट्राभल, एजेन्सी, प्रहरी, मन्त्रालयका कर्मचारीसम्म पुग्ने प्रमाण भेटिएको अनुसन्धानकर्ताहरू बताउँछन्।
पछिल्लो पटक भिजिट भिसामा मौलाएको तस्करी नियन्त्रण गर्न यस्ता विवादास्पद र अव्यावहारिक मापदण्ड खारेज गर्नुपर्ने जानकार बताउँछन् । पूर्वसचिव जयमुकुन्द खनाल मुलुकको शासन–प्रशासन ऐन–कानुन र विधि–पद्धतिबाट भन्दा पनि ‘तजबिज’ का कार्यविधि–मापदण्ड तथा परिपत्रले चल्दा समस्या निम्तिएको बताउँछन् । अध्यागमन प्रशासनसँग जोडिएको भिजिट भिसा प्रकरण पनि यसकै एउटा पाटो रहेको उनको भनाइ छ ।


प्रतिक्रिया