
श्रेणी : मधेस
बारा,७ साउन – बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवले पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने उद्देश्यले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिको नेपाल पत्रकार महासंघ, बारा शाखा र मधेश प्रदेश समितिले कडा शब्दमा निन्दा गरेका छन्। दुवै समितिले अध्यक्ष यादवलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिई सार्वजनिक रूपमा माफी माग्न आग्रह गर्दै अन्यथा थप कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्।
नेपाल पत्रकार महासंघ, बारा शाखाका अध्यक्ष रमेश सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार, साउन ६ गते मंगलबार दिउँसो मोटरसाइकलमा सवार एक युवकले अध्यक्ष यादव चढेको स्कारपियोको चक्कामा ठोक्किएर टायर पञ्चर बनाएको निहुँमा अध्यक्ष यादवले ती युवकलाई गालीगलौज र दुर्व्यवहार गरेका थिए। यस घटनाबारे पत्रकारहरूले समाचार लेखेकै आधारमा अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले समग्र पत्रकारिता क्षेत्रलाई नै बदनाम गराउने प्रयास गरेको महासंघको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, “अध्यक्षको यस प्रकारको अभिव्यक्तिले सञ्चारकर्मीहरूको मनोबल कमजोर हुनुका साथै डर, त्रासको सिर्जना भई निष्पक्ष र भयरहित रूपमा समाचार सम्प्रेषण गर्न समस्या उत्पन्न भएको छ।” समाचारको विषयमा चित्त नबुझेमा कानुनी उपचार खोज्ने निकाय हुँदाहुँदै अध्यक्ष यादवले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई समेत आत्मसात नगरी पत्रकार र पत्रकारितालाई बदनाम गराउने अभिव्यक्ति दिएको तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको महासंघले आरोप लगाएको छ।
बारा शाखाले अध्यक्ष यादवलाई पत्रकारहरूमाथि बेबुनियादी, आधारहीन र अपमानजनक आरोप लगाएको भन्दै आपत्ति जनाएको छ। आफ्नो स्वार्थ सिद्ध गर्नका लागि सञ्चार माध्यममा आएको समाचारलाई अर्को सञ्चार माध्यमबाट खण्डन गराउने कार्यमा संलग्न हुनु पत्रकारिताको सम्मानमाथिको हमला भएको विज्ञप्तिमा उल्लेख छ।
“आर्थिक लाभका लागि कुन पत्रकारले कहिले, कहाँ पैसा, तेल माग्ने काम गर्यो? यदि ती कुरामा सत्यता छ वा त्यसका आधार, प्रमाण छ भने सार्वजनिक गर्न अध्यक्ष यादवसँग जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ। पेशागत मर्यादामाथि प्रश्न उठाउने अध्यक्ष यादवको कामको कडा रूपमा भर्त्सना गर्दै महासंघले सामाजिक सञ्जालमा व्यक्त गरेका कुराहरू तत्काल फिर्ता लिई माफी माग्न आग्रह गरेको छ। फिर्ता नलिएमा महासंघ आगामी कदम सार्वजनिक गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ।
यसैबीच, नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले पनि बाराका सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादवको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ द्वारा जारी प्रेस विज्ञप्तिमा बारा शाखाले उपलब्ध गराएको जानकारीअनुसार, अध्यक्ष यादवले सामाजिक सञ्जालमा पत्रकारहरूमाथि निराधार आक्षेप लगाउँदै अपमानजनक टिप्पणी गरी समग्र पत्रकारिता पेशामाथि नै धावा बोल्ने प्रयास गरेको उल्लेख छ।
“समाचारप्रति असहमति जनाउने कानुनी बाटो खुला हुँदाहुँदै सार्वजनिक पदमा रहेका व्यक्तिले सामाजिक सञ्जालमा यस्तो गैरजिम्मेवार तथा अपमानजनक अभिव्यक्ति दिनु निन्दनीय मात्र होइन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण पनि हो,” विज्ञप्तिमा भनिएको छ। मधेश प्रदेश समितिले यस कार्यको घोर भर्त्सना गर्दै अध्यक्ष यादवलाई सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्ति तत्काल फिर्ता लिई आत्मसमीक्षा गर्न आग्रह गरेको छ।
दुवै विज्ञप्तिमा पछिल्लो समय पत्रकारिता पेशालाई अमर्यादित बनाउने खालका गतिविधिहरू केही व्यक्ति वा समूहद्वारा हुने गरेको र सञ्चार माध्यममा आइसकेको समाचारलाई अर्को सञ्चार माध्यमबाट खण्डन गर्ने/गराउने भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसो नगर्न/नगराउन सबै पत्रकार र सञ्चार माध्यमका प्रकाशक, सम्पादकहरूलाई आग्रह गरिएको छ।


प्रतिक्रिया