
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौं, २७ माघ । नेपाल हेल्थ कर्प्स (एनएचसी)ले वर्ल्ड फेडरेसन अफ पब्लिक हेल्थ एसोसिएशन्स (डब्लुएफपीएचए)को सहयोगमा माघ १९ गतेदेखि सुर्तीजन्य पदार्थविरुद्धको अभियान सुरु गरेको छ। अभियानको उद्देश्य सुर्तीजन्य पदार्थको सेवन निरुत्साहित गर्दै यसको हानिबारे आमजनलाई शिक्षा दिनु र स्वास्थ्य प्रवर्द्धन गर्नु रहेको एनएचसीका डा. आयुष विष्टले जानकारी दिए ।
संस्थाले स्वास्थ्य क्षेत्रमा अध्ययनरत युवायुवतीलाई स्वास्थ्य दूतका रूपमा परिचालन गर्नेछ। यस वर्ष ३३ जना स्वास्थ्य दूतहरू नियुक्त गरिएको छ, जसले विभिन्न सामुदायिक गतिविधि सञ्चालन गर्नेछन् ।
‘हामीले विभिन्न स्वास्थ्य संस्थाहरूबाट एक-एक स्वास्थ्य दूत चयन गरेका छौं। उनीहरूले चेतना फैलाउने, कार्यक्रम सञ्चालन गर्ने र तथ्यांक सङ्कलनमा सहयोग गर्नेछन्,’ विष्टले भने ।
अभियानको पहिलो चरणमा १० हजारभन्दा बढी विद्यालयका विद्यार्थीहरूको तथ्यांक सङ्कलन गरिनेछ। हरेक स्वास्थ्य दूतले ३५० देखि ४०० विद्यार्थीलाई सुर्तीजन्य पदार्थ सेवनको हानिबारे शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको छ ।
डब्लुएफपीएचए र एनएचसीबीचको सहकार्यले धुम्रपानलाई निरुत्साहित गर्दै प्रभावकारी नीति निर्माण र पैरवीमा केन्द्रित रहने विज्ञप्तिमा उल्लेख छ ।
सुर्तीजन्य पदार्थको सेवन रोक्न सकिने मृत्युहरूको प्रमुख कारण हो, जसले विश्वव्यापी रूपमा वार्षिक ८.७ मिलियन मृत्यु निम्त्याउँछ। नेपालमा सन् २०२३ मा यो प्रमुख जोखिम कारक बनेको छ, जसले २७,५०० मृत्यु (कुल मृत्युको १५.५ प्रतिशत) निम्त्याएको एनएचसीले जनाएको छ ।
डा. प्रज्ज्वल प्याकुरेल, डा. आयुष विष्ट, कमल विश्वकर्मा, निरुपा शर्मा, डा. धिरज शाह, डा. दीपिका लामिछाने, निशान्त पाण्डे र प्रवेश बाँस्तोलालगायतले अभियानको नेतृत्व गरिरहेका छन्।
विद्यार्थीहरूमाझ गरिएको यो जागरण अभियानले परिवार र समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया