
श्रेणी : प्रदेश
काठमाडाैं,११ पुस ।– सुमो दुर्घटनामा गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको उपचारका क्रममा मृत्यु भएको छ।
ना १ ज ७१८१ नम्बरको सुमो काठमाडौंबाट यात्रु लिएर आउँदै गर्दा केपिलासगढी गाउँपालिका–३ बास्पानीस्थित राँटीमा बुधबार दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा गम्भीर घाइते राईलाई अचेत अवस्थामा उद्धार गरी गाउँपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल खोटाङ ल्याइएको थियो।
जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रुपेश सङ्ग्रौलाका अनुसार राईको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले बचाउन सकिएको छैन।
सडकमै पार्क गरिएको सुमो अचानक आफैँ गुडेर दुर्घटनामा परेको प्रारम्भिक विवरण प्राप्त भएको छ। दुर्घटनापछि फरार रहेका सुमो चालक ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देल निवासी ३६ वर्षीय शत्रुधन राई प्रहरी चौकी खार्मीमा सम्पर्कमा आएका थिए।
प्रहरीको सहारामा जिल्ला प्रहरी कार्यालय पुगेका चालकलाई स्वास्थ्य परीक्षणपछि हिरासतमा राखेर घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन्।

प्रतिक्रिया