वीरगन्ज :

सुन तस्करी : भरिया जेलमा, मालिक सधैँ फरार

श्रेणी : अपराध

4 hours
Pradeep Sah
2.5kViews
1333 Shares

काठमाडौँ,०५ जेठ । तिब्बतको केरुङ नाकाबाट स्याउ बोकेको कन्टेनरमार्फत नेपाल भित्र्याइँदै गरेको ७ किलो ६५३ ग्राम सुन आइतबार रसुवा भन्सार नाकामा बरामद भएको छ। तर उक्त सुनको वास्तविक मालिक को हो भन्ने विषय अझै खुल्न सकेको छैन।

रसुवा जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी हेमबहादुर शाहीका अनुसार सुन कन्टेनर चालक २४ वर्षीय किशोर भुजेलको बस्ने सिटनजिक ‘फल्स बटम’ अर्थात् बनावटी तह बनाई लुकाइएको अवस्थामा फेला परेको हो। भुजेललाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ। उनले भने सुनबारे आफूलाई जानकारी नभएको दाबी गरेका छन्।

‘हामीले बारम्बार सोधपुछ गर्दा पनि उनले सुनबारे थाहा नभएको भन्ने अडानमै रहेका छन्,’ डीएसपी शाहीले बताए। प्रहरीले रसुवा नाकाबाट आउने कन्टेनरहरूको निगरानी गरिरहेको अवस्थामा स्याउ लोड गरिएको बा ४ ख ६२०१ नम्बरको कन्टेनर मितेरी पुल पार गरेपछि नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार कन्टेनरमा फल्स बटम जस्तो बनावटी संरचना बनाउने कार्य चालक वा मालिकको जानकारीबिना सम्भव छैन। यस्तो संरचना बनाउन कन्टेनरको बनावट नै परिवर्तन गर्नुपर्छ। त्यसैले चालक पूर्ण रूपमा अनविज्ञ रहेको भन्ने कुरा पचाउन गाह्रो रहेको प्रहरीले जनाएको छ।

भुजेल रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ का स्थायी बासिन्दा हुन्। तिब्बतको केरुङ प्रवेशको अनुमति रसुवावासीहरूलाई मात्र दिइने हुँदा उनले कन्टेनर लिएर नाका पार गरेका थिए।

यस्तो खालको बयान नयाँ भने होइन। भन्सार कर्मचारीहरू भन्छन्, ‘बरु ढुंगा बोल्छ होला, तर चालक बोल्दैनन्।’ यसअघि पनि सुन तस्करीका घटनामा चालक वा भरियाले मालिकबारे जानकारी नदिएको घटना दोहोरिइरहेको छ। प्रहरीले आशंका गरेको छ कि भरिया वा चालकलाई पहिल्यै मौखिक रूपमा मालिक नखुलाउने सर्तमा सम्पूर्ण जिम्मेवारी लिने, जेल परेमा खर्च र परिवारको रेखदेखसम्मको ग्यारेन्टी दिने व्यवस्था मिलाइन्छ।

तातोपानी नाकाबाट तिब्बततर्फको आवतजावत भूकम्पपछि बन्द भएपछि सुन तस्करीको मुख्य बाटो अहिले रसुवा नाका बनेको देखिन्छ। अघिल्ला घटनाहरूमा जस्तै यसपटक पनि सुनको मालिक अज्ञात छ भने भरिया पक्राउ परेका छन्।

बरामद सुनको प्रारम्भिक बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी छ। एक करोडसम्मको सुन मुद्दा भन्सार प्रमुखले छिनोफानो गर्न सक्ने कानुनी व्यवस्था भए पनि मूल्य बढी भएकाले अब यो मुद्दा जिल्ला अदालतमा बुझाइनेछ। बरामद सुन नेपाल राष्ट्र बैंकमा बुझाउने तयारी गरिएको छ।

प्रहरीले सोमबार (आज) भुजेललाई सुनसहित भन्सारमा बुझाउने तयारी गरिरहेको छ। बरामद सुन सात वटा बिस्कुट आकारका टुक्रा र केही साना टुक्राहरूमा रहेको छ।

यो घटनाले पुनः एकपटक नेपाल–चीन नाकाबाट हुने सुन तस्करीको जटिल सञ्जाल र त्यसमा भरिया मात्र पक्राउ पर्ने तर मालिक उम्किने पुरानै समस्या उजागर गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *