वीरगन्ज :

सुनकोशी मरिन डाइभर्सनको काम यो गतिमा चल्दा १० वर्षमा पनि सकिँदैन : मुख्यमन्त्री सिंह

श्रेणी : अर्थ

3 days
Pradeep Sah
1.9kViews
1073 Shares

जनकपुर,१८ साउन । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुनकोशी मरिन डाइभर्सन आयोजनाको ढिलो गतिमा भइरहेको निर्माणप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। आयोजना स्थलमा पुगेका मुख्यमन्त्री सिंहले स्थलगत निरीक्षणपछि निर्माणको वर्तमान अवस्था प्रति गम्भीर चिन्ता जनाउँदै काममा तिव्रता दिन ठेकेदार कम्पनीलाई कडा सन्देश दिएका हुन्।

“जुन ढिलाइ अहिले देखिएको छ, त्यसरी त आयोजनाको काम १० वर्षमा पनि नसकिने हो,” सिंहले आक्रोश पोख्दै भने। उनले संघीय सरकारलाई प्रतिवेदन बुझाउने तयारी भइरहेको र प्रदेश सरकारका तर्फबाट आयोजनाको अवलोकनपछि विस्तृत जानकारी संकलन भइसकेको जानकारी पनि दिए।

मुख्यमन्त्री सिंहसँगै ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादव, मुख्य सचिव मदन भुजेललगायतको टोलीले आयोजना स्थलको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा आयोजना प्रमुख अच्युतराज गौतमले सुरुङ निर्माण भने समयमै सकिएको जनाए तापनि, मुख्य ठेकेदार ‘पटेल रमण जेभी कन्स्ट्रक्सन’ले सम्झौता अनुसारको ५० प्रतिशत समय बित्दा पनि केवल १० प्रतिशत मात्र कार्य सम्पन्न गरेको जानकारी दिए।

ऊर्जा मन्त्री शेषनारायण यादवले यो आयोजना मधेस प्रदेशको कृषि र खानेपानी सुरक्षासँग प्रत्यक्ष जोडिएकोले समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्नु अपरिहार्य भएको बताए। “लाखौं कृषकको भविष्य यस आयोजना संग जोडिएको छ, अब ढिलाइ सह्य हुने छैन,” उनले चेतावनी दिए।

भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले पनि निर्माण गुणस्तरमा कुनै सम्झौता नगरिने स्पष्ट पार्दै निर्माण कम्पनीलाई जिम्मेवार बन्न आग्रह गरे।

निर्माण कम्पनीका प्रतिनिधि नवीन चौधरीले निरन्तर वर्षा, माटोको भौगोलिक बनावट, स्थानीय माग र सामाजिक–राजनीतिक कारणले निर्माणमा ढिलाइ भएको जिकिर गरे। “पहिला केही समय काम रोकिएको थियो, तर अब वर्षा सकिएपछि तीव्र गतिमा अघि बढ्नेछौं,” उनले प्रतिक्रिया दिए।

झण्डै ५० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हालसम्म १९ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ। तर १६ अर्ब ५० करोड २७ लाख रुपैयाँ खर्च भइसक्दा पनि आयोजनाको कुल भौतिक प्रगति ३६.८३ प्रतिशतमै सीमित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *