
श्रेणी : BANNER
धनगढी । नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सुदूरपश्चिम प्रदेशमा सभामुख चयनमा सकस भएको छ । सभामुख चयनका लागि शनिबार दोस्रो पटक भएको निर्वाचनबाट पनि सभामुखका उम्मेदवारले बहुमत नपाएपछि सुदूरपश्चिम प्रदेश सभाले सभामुख पाउन नसकेको हो ।
सभामुख चयनका लागि शनिबार बेलुका ६ बजे प्रदेश सभाको बैठकबाट सभामुखका लागि मतदान भएको थियो । शनिबार भएको मतदानमा कांग्रेसका सभामुख पदका उम्मेदवार मानबहादुर रावलको पक्षमा २२ र विपक्षमा २२ मत पाए ।
नागरिक उन्मुक्तिका ७ जना तटस्थ रहे । दोस्रो प्रस्तावमा सत्ता पक्षबाट माओवादीका भीम भण्डारीको पक्षमा २२ र विपक्षमा पनि २२ पर्यो । उनलाई पनि मतदान नगरी नागरिक उन्मुक्ति तटस्थ रह्यो ।
संवैधानिक व्यवस्था अनुसार संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिनुपर्ने हुन्छ। त्यसैले माघको २ गतेभित्र सुदूरपश्चिम प्रदेश सभाको सभामुख निर्वाचित भइसक्नुपर्ने छ ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादी पार्टीका ४ सांसद छन् । यस्तै राप्रपा १ र स्वतन्त्र १ सासंद छन्। यहाँ सभामुख चयनका लागि २७ मत आवश्यक पर्छ।

प्रतिक्रिया