वीरगन्ज :

सुदूरपश्चिमलाई यु–१९ क्रिकेट प्रतियोगिताको उपाधि

श्रेणी : खेलकुद

2 years
birgunj report
12Views
0 Shares

काठमाडौं । लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले वाईवाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेश अन्तिम खेलसम्म अपराजित रहँदै च्याम्पियन भएको हो ।

च्याम्पियन बन्ने क्रममा मिलन बोहराको उत्कृष्ट बलिङ रह्यो । लुम्बिनीले प्रस्तुत गरेको ९३ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले २१ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले अविजित ३९, दीपक बोहराले २५ र कप्तान अनुराग सिंहले २२ रन जोडे । लुम्बिनीका लागि रमेश कुर्मीले दुई तथा निर्मल गुरुङ र अभिषेक गौतमले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनी प्रदेश २९.१ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ र नर सार्कीले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि मिलनले पाँच, हेमन्त धामी र नरेन साउदले समान दुई तथा आकाश चन्दले एक विकेट लिए । यस संस्करणको समूह चरणको भेटमा लुम्बिनी सुदूपश्चिमसँग १ सय रनले पराजित भएको थियो ।

सँगै सुदूरपश्चिमले लुम्बिनीसँग अघिल्लो संस्करणमा फाइनल खेलमा हारेको बदलासमेत लिएको छ । प्रतियोगितामा प्रदेश १, मधेस प्रदेश,वागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित ७ प्रदेशको सहभागिता रहेको थियो ।

उपाधिसँगै सुदूरपश्चिमले दुई लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै उपविजेता लुम्बिनीले एक लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *