
श्रेणी : BANNER
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारतबीचको सीमाको बारेमा अतिरञ्जना नगर्न एमालेलाई सुझाव दिएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो भारत भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्रीले आफूले सीमा समस्या समाधानका लागि विकल्पको कुरा नगरेको बताएका हुन् ।
उनले लिपुलेक, लिम्पियाधुराको सट्टा बंगलादेश जाने बाटो लिन खोजेको भन्ने भनाईप्रति आपत्ति जनाए । उनले भने, ‘नेपाली भूमिको बारेमा यताउता गरेको भनेको देख्दा म पीडित भएको महसुस भएको छ । लिपुलेक लिम्पियाधुरा हाम्रो हो भन्ने स्थापित गर्ने काम गरेको छु । यसरी काम गर्दा बधाई दिनुहुन्छ भन्ने सोचेको तर यहाँ तर्क कुतर्क सुनियो । नेपालका विज्ञ बुद्धिजीवीहरुले भनेका कुरा यस्ता पनि छन् भनेको हो । नेपालको भूमि नेपालको हो भन्ने स्थापित हुनुपर्छ भनेको हो । बंगलादेश मोडलको कुरा मेरो होइन । यो कुरा एमाले निकटमा विज्ञले मलाई भनेका छन् । अनि म माथि आरोप लगाएर अझ बढी राष्ट्रहीत विपरीतका कुरा गर्ने ? अतिरञ्जित गरेर जनतामा नकारात्मक सन्देश फैलाउने काम नगरियोस् । समाधान हुनुभन्दा बढी पहिले नै होहल्ला बढी गरियो भने विग्रेला भन्ने चिन्ता छ । मैले भन्नुपर्ने जति सबै भनेको छु । राम्रोलाई राम्रो भन्न आग्रह गर्छु ।’
प्रधानमन्त्रीले भारत पनि सीमा समस्या समाधान गर्ने कुरामा चिन्तित रहेको बताए । उनले आफूले भारतीय प्रधानमन्त्रीलाई सीमा समस्या समाधान नगरी सम्बन्ध राम्रो नहुने भनेर स्पष्ट कुरा राखेको बताए । त्यसपछि भारतीय प्रधानमन्त्रीले सीमा समस्या समाधन गरी दुई देशको सम्बन्ध हिमालको उचाईमा पुर्याउने कुरा गरेको बताए ।
उनले भने, ‘सीमाको विषयमा मैले प्रष्टसँग समाधान गर्नैपर्छ भनेर कुरा राखें । सीमाको स्थायी समाधान नभएसम्म सम्बन्ध राम्रो हुँदैन भनेर भनें । भारतको प्रधानमन्त्रीको हैसियतले समस्या समाधान गरिन्छ र सम्बन्धलाई हिमालको उचाईसम्म पुर्याइन्छ भनेर भनेको यो पहिलो पटक नै हो । सीमा समस्या पनि अब हल गरिन्छ । हिमालयको उचाईमा दुइ देशको सम्बन्ध पुर्याइन्छ भन्नुभयो मोदीजीले । सन् २०१४ मा नेपाल आउँदा उहाँले सम्बन्ध हिट भन्नुभएको थियो अहिले सुपरहिट सम्बन्ध हुन्छ भन्नुभएको छ । यसो भन्दा हामी खुसी हुने कि दुःखी हुने त ?’ उनले यो पटकको भ्रमण सफल मात्र नभएर परिणाममुखी पनि भएको बताए ।

प्रतिक्रिया