राैतहट, १८ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति–सुरक्षा र आर्थिक राहत दिन सरकारसँग माग गरेका छन्।
रौतहटको गौरमा आयोजित रौतहट–१ क्षेत्रीय भेलामा सम्बोधन गर्दै साहले सरकारले कर नीति र महँगीका कारण आम नागरिकको जीवन कठिन बनाएको आरोप लगाए। उनले भने, “सरकार पिच्छेको सरकारले हरेक वस्तुमा करमाथि कर लगाउने काम गरिरहेको छ। भारत र चीनमा सस्तोमा पाइने सामान नेपालमा किन महँगोमा पर्छ?”
साहले मोटरसाइकलको उदाहरण दिँदै भने, “भारतमा दुई लाखमा पाइने मोटरसाइकल नेपालमा पाँच लाख तिर्नुपर्ने अवस्था छ। यसरी करको मनपरीका कारण उद्योग र व्यापार क्षेत्र प्रभावित भएका छन्।”
उनले सीमावर्ती क्षेत्रका नागरिकले दैनिक जीवनमा कर–आतंक र महंगीको भारी महसुस गरिरहेको बताएका छन्। “गाउँ–सहरका सर्वसाधारण उपभोग गर्ने वस्तु महंगीका कारण कष्टमा छन्,” उनले जोड दिए।
साहले सरकारको ध्यान सीमा क्षेत्रका नागरिकको सुरक्षा, जीवन–यापन र वस्तुको उचित मूल्यतर्फ केन्द्रित गर्नुपर्नेमा पनि जोड दिएका छन्।

प्रतिक्रिया