
श्रेणी : अपराध
बीरगन्ज,०२ साउन । बाराको सिम्रौनगढमा सुरक्षाकर्मीको दुव्र्यवहारको विरोधमा किसानहरूले सडकमा टायर बाल्दै प्रदर्शन गरेका छन्।
शुक्रबार किसानहरूले सिम्रौनगढको कोल्ड स्टोर नजिक र गण्डक नहर सडकमा टायर बालेर सडक अवरुद्ध गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमामा अनावश्यक दुःख दिएको भन्दै विरोध जनाएका हुन्।
धान खेतीको सिजन भए पनि नेपालमा मल नपाउँदा भारतीय बजारबाट १–२ बोरा मल ल्याउँदा सीमामा सुरक्षाकर्मीले खोस्ने र दुव्र्यवहार गर्ने गरेको किसानहरूको गुनासो छ। यसै कारण उनीहरू सडकमा उत्रिएको प्रदर्शनमा सहभागी स्थानीय रमेश प्रसादले बताए।
उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लाल बाबु कुशवाहाले सिम्रौनगढको छोटी भन्सार कार्यालय लामो समयदेखि बन्द हुँदा किसानहरू भारतीय बजारबाट मल ल्याउन बाध्य भएको तर सुरक्षाकर्मीहरूले भन्सार छलिएको भन्दै नियन्त्रणमा लिएर दुःख दिने काम गरेको बताए।
किसानहरूले धानको मुख्य सिजनमा मल नपाएर खेती प्रभावित भएको र सुरक्षाकर्मीको दुव्र्यवहारले थप समस्या परेको भन्दै सरकारले तत्काल समस्या समाधान गर्नुपर्ने माग गरेका छन्।


प्रतिक्रिया