
श्रेणी : प्रदेश
काठमाडौं,१२ वैशाख । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र उनकी पत्नी सोनी सिन्धु रानीबीचको सम्बन्धविच्छेदको मुद्दा अन्ततः मिलापत्रमार्फत टुंगिएको छ। ललितपुर जिल्ला अदालतमा बुधबार दुबै पक्ष आपसी सहमतिमा सम्बन्धविच्छेदमा पुग्दै कानुनी प्रक्रिया सम्पन्न गरेका हुन्।
अदालतका सूचना अधिकारी राम सजिवन महतोका अनुसार, दुवैजनाले अदालतको सिफारिसमा मिलापत्र गरेका हुन्। सहमतिअनुसार, डा. राउतले आफ्नी पत्नीलाई मासिक ३३ हजार रुपैयाँ बराबरको चामल उपलब्ध गराउने, अंश दिने र सो अंशमा घर निर्माण गरिदिने सहमति भएको छ। यद्यपि, उनीहरू अब सँगै नबस्नेछन् भने छोराको अभिभावकत्व र बसोबास डा. राउतकै साथमा रहनेछ।
डा. राउतले गत २०८१ भदौ १२ गते सम्बन्धविच्छेदको निवेदन अदालतमा दर्ता गरेका थिए। निवेदनमा उनले पत्नी सोनी सिन्धुले लामो समयदेखि भारतमा बस्दै आएको र दाम्पत्य जीवनमा सँगै नबसेको कारण सम्बन्धविच्छेद आवश्यक भएको बताएका थिए।
यो मिलापत्रसँगै राउत दम्पतीको कानुनी सम्बन्धविच्छेद प्रक्रियाले टुंगो पाएको छ। सार्वजनिक जीवनमा सक्रिय डा. राउतको यो व्यक्तिगत निर्णय अहिले धेरैको चासोको विषय बनेको छ।


प्रतिक्रिया