वीरगंज (पर्सा), ९ पुस । वीरगंजस्थित सरिसवा (सिर्सिया) नदीलाई औद्योगिक फोहोरबाट जोगाउन सक्रिय सिर्सिया नदी बचाऊ अभियानले वीरगंज उद्योग वाणिज्य संघलाई औपचारिक चेतावनी पत्र बुझाएको छ । अभियानका तर्फबाट बुधबार संघका अध्यक्ष हरि प्रसाद गौतमलाई बुझाइएको ज्ञापन पत्रमा नदीमा भइरहेको निरन्तर औद्योगिक प्रदूषण तत्काल रोक्न ठोस कारबाही नगरे ७२ घण्टाभित्र सशक्त आन्दोलनमा उत्रिने स्पष्ट चेतावनी दिइएको छ ।
अभियानका संयोजक किसु सर्राफले ज्ञापन पत्र बुझाउँदै वीरगंज क्षेत्रका विभिन्न उद्योगहरूले लामो समयदेखि सिर्सिया नदीमा रासायनिक फोहोर, विषाक्त ढल तथा अन्य हानिकारक पदार्थहरू अव्यवस्थित रूपमा विसर्जन गर्दै आएको आरोप लगाए । प्रदूषित र रसायनयुक्त पानी सोझै नदीमा मिसिँदा नदीको पानी पूर्ण रूपमा दूषित बनेको र यसले स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याएको उनको भनाइ छ ।
सर्राफका अनुसार नदी प्रदूषणका कारण खेतीयोग्य जमिनको उर्वराशक्ति क्रमशः नष्ट हुँदै गएको छ भने जलचर जीवहरू लोप हुने अवस्थामा पुगेका छन् । यसले समग्र जैविक विविधता र वातावरणीय सन्तुलनमा ठूलो क्षति पुर्याइरहेको दाबी पनि उनले गरे ।
अभियानले वीरगंज उद्योग वाणिज्य संघलाई उद्योगीहरूको छाता सङ्गठनका रूपमा मात्र नभई सामाजिक तथा वातावरणीय दायित्व बहन गर्ने प्रमुख संस्थाका रूपमा स्मरण गराउँदै प्रदूषण गर्ने उद्योगहरूमाथि तत्काल कडा कारबाही गर्न, प्रदूषण रोक्न स्पष्ट निर्देशन जारी गर्न तथा दोषी उद्योगहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।
अभियान समितिले आगामी ७२ घण्टाभित्र ठोस र प्रभावकारी कारबाही नभए हजारौँ स्थानीय बासिन्दाको सहभागितामा सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ । समितिका अनुसार आगामी शनिवारदेखि वीरगंज उद्योग वाणिज्य संघको कार्यालय परिसरमा धर्ना, विरोध प्रदर्शन तथा अन्य कानुनी कदम चालिनेछ । विरोधका क्रममा उत्पन्न हुने सबै परिणामको जिम्मेवारी संघ नेतृत्वले नै लिनुपर्ने संयोजक सर्राफको भनाइ छ ।
सिर्सिया नदी जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै अभियानले संघले यस विषयलाई गम्भीरतापूर्वक लिई तत्काल प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरेको छ । वीरगंजका जेन–जी युवाहरूको सक्रिय सहभागितामा गत शनिवारदेखि सिर्सिया नदी बचाऊ अभियानको औपचारिक सुरुवात गरिएको हो । अभियानको पहिलो दिन युवाहरूले रानीघाटस्थित नदी क्षेत्रमा सरसफाइ गर्नुका साथै त्यहाँबाट सङ्कलन गरिएको फोहर पानी साङ्केतिक रूपमा जिल्ला प्रशासन कार्यालय र वीरगंज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयमा बुझाएर विरोध जनाएका थिए ।
अभियानका सदस्य बिक्की सर्राफले यस शनिवार पनि सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । उनका अनुसार अभियानअन्तर्गत थप संघर्षका कार्यक्रमहरू आयोजना गरिनेछ भने सिर्सिया नदीको पर्यावरणीय, सामाजिक र धार्मिक महत्वबारे जनचेतना फैलाउने योजना पनि रहेको छ ।
वीरगंज–पथलैया औद्योगिक कोरिडोरका उद्योगहरूबाट वर्षौँदेखि सिर्सिया नदीमा फोहर विसर्जन हुँदै आएको छ । यसले स्थानीय बासिन्दाको स्वास्थ्य, कृषि उत्पादन र नदीसँग जोडिएका धार्मिक–सांस्कृतिक मूल्यहरूमा समेत गम्भीर असर पार्दै आएको छ । यसअघि पनि विभिन्न अभियान र स्थानीयवासीले प्रदूषण रोक्न दबाब दिँदै आएतापनि उद्योगीहरूको अटेरीका कारण प्रभावकारी कारबाही हुन नसकेको गुनासो रहँदै आएको छ ।
सिर्सिया नदी बचाऊ अभियानले नदी संरक्षणका लागि सरोकारवाला सबै पक्षको सक्रिय सहयोग र सहकार्यको अपेक्षा गरेको छ ।


प्रतिक्रिया