
श्रेणी : अर्थ
सिरहा,३१ असार । सिरहाको माडर बजार क्षेत्रमा निर्माणाधीन आरसीसी ढलान सडकमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन्। उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गर्दै काम रोक्न माग गरेका छन्।
सिरहा सदरमुकामदेखि माडरसम्म नाला, माटो, ग्राभेल र ६० मिटर आरसीसी ढलानसहितको सडक निर्माणको जिम्मा भगत ग्रुप अफ कन्स्ट्रक्सनले लिएको हो। कुल लागत ६ करोड ५८ लाख रुपैयाँभन्दा बढी रहेको यो आयोजना असार मसान्तसम्म सक्ने सम्झौता भए पनि हालसम्म करिब ३० प्रतिशत मात्र काम भएको छ।
स्थानीयले काममा ढिलाइ मात्र नभई गुणस्तरहीन सामग्री प्रयोग गरिएको आरोप समेत लगाएका छन्। सिरहा नगरपालिका–१७ का वडाध्यक्ष उमेश प्रसाद यादवका अनुसार ठेकेदार कम्पनी भुक्तानी लिन हतारमा कमसल काम गरिरहेको छ। “ढलानमा सिमेन्ट र गिट्टीको अनुपात मिलाइएको छैन। लट्ठीले हानेको भरमै सडक उप्किने अवस्थामा छ,” स्थानीय रामकुमार यादवले बताए।
तर, निर्माण कम्पनीका प्रमुख दिपेन्द्र भगतले आरोप अस्वीकार गर्दै अहिले कामको बीचको चरण भएकाले अपूर्ण देखिए पनि आवश्यक केमिकल प्रयोग गरी सडक मजबुत बनाइने दाबी गरे। सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णले यसबारे जानकारी लिइरहेको प्रतिक्रिया दिएका छन्।
स्थानीयले गुणस्तरमा सम्झौता नगर्न र समयमै सडक निर्माण सम्पन्न गर्न माग गर्दै आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।


प्रतिक्रिया