
श्रेणी : अर्थ
जनकपुर,२६ पुस । सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टाइन सेवा नहुँदा राजस्व संकलनमा ठूलो असर परेको छ। कृषि उत्पादनको आयात-निर्यातमा सहजता नहुँदा व्यापारीहरू निरुत्साहित हुनुका साथै उपभोक्ता र उद्योग प्रभावित भएका छन्।
प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाका अनुसार मासिक एक करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने यस भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टाइनको अभावले गर्दा भारतबाट आयात गरिने र नेपालबाट निर्यात गरिने कृषिजन्य वस्तुमा जाँच र प्रमाणीकरणमा कठिनाइ भइरहेको छ।
क्वारेन्टाइन प्रक्रियाको अभावले मालबाहक सवारीहरू भन्सार कार्यालयअगाडि घण्टौं जाममा पर्ने गरेका छन्। दलहन, फलफूल, तरकारी, दूधजन्य उत्पादन लगायतको आयात-निर्यातमा समस्या भएको र यसले खाद्य तथा उद्योग क्षेत्रमा समेत प्रत्यक्ष असर परेको सापकोटाले बताए।
कृषिजन्य वस्तु भन्सारको ९० प्रतिशत राजस्व स्रोत भए पनि प्लान्ट क्वारेन्टाइन सेवाको अभावले राजस्व असुलीमा ठूलो गिरावट आएको छ। व्यापारीहरूले वैकल्पिक रूपमा पूर्वको विराटनगर र पश्चिमको जलेश्वर भन्सार प्रयोग गर्नुपर्ने बाध्यता छ, जसले ढुवानी लागत बढाई उपभोक्ता मूल्यवृद्धिमा योगदान पुर्याएको सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष विकास सारडाले बताए।
विगतमा प्लान्ट क्वारेन्टाइनको सुविधा विस्तार गर्ने निर्णय र पत्राचार भए पनि हालसम्म कार्यान्वयनमा कुनै प्रगति नभएको प्रमुख भन्सार अधिकृत सापकोटाले बताए। २०८० जेठमा त्रिपुरेश्वरस्थित भन्सार विभागले सिरहा, महेशपुर र सठौलीका लागि क्वारेन्टाइन कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिए पनि सेवा प्रभावकारी बन्न सकेको छैन।


प्रतिक्रिया