
श्रेणी : मधेस
जनकपुर, ८ वैशाख । सिरहा नगरपालिकाले झन्डै पाँच महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार मोहम्मद इद्रिस राइनलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएपछि आइतबारदेखि उनले कार्यभार सम्हालेका हुन्।
राइन यसअघि नगरकै स्वास्थ्य शाखा प्रमुखका रूपमा कार्यरत थिए। उनको स्वागत समारोहमा नगर प्रमुख डा. नवीनकुमार यादवले चादर ओढाएर र डायरी–कलम प्रदान गर्दै नगरको नेतृत्वमा स्वागत गरेका थिए।
नगर प्रमुख यादवले प्रमुख प्रशासकीय अधिकृत राइनलाई जनमुखी प्रशासनिक सेवा प्रवाहमा लाग्न निर्देशन दिए। उनले नगरको समुन्नत विकास र जनहितमा योजनाहरू कार्यान्वयन गर्न कर्मचारीसँग सहकार्यमा बल दिए।
प्रमुख प्रशासकीय अधिकृत राइनले समेत जनमैत्री सेवा प्रवाहमा आफू प्रतिवद्ध रहेको बताउँदै, कार्यालयमा पारदर्शी र प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
गत माघमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको जिम्मेवारी खोसिएपछि नगरपालिकामा नेतृत्वविहीन अवस्था कायम थियो। यसले गर्दा आर्थिक वर्ष २०८०/८१ का योजना कार्यान्वयनदेखि कर्मचारीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता वितरणसम्म प्रभावित भएको थियो।
अब नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि नगरपालिकाको कामकाज नियमित हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया