
श्रेणी : अर्थ
जनकपुर,२२ पुस। सिरहा र धनुषालाई जोड्ने महत्वपूर्ण कमला पुलको निर्माण कार्य पुनः सुरु भएको छ। हुलाकी राजमार्ग अन्तर्गतको यो पुल निर्माण गत असारदेखि रोकिएको थियो। हुलाकी राजमार्ग निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोका अनुसार पुल निर्माण गत हप्तादेखि पुनः सञ्चालनमा आएको छ।
निर्माण कार्य असोजमै सुरु हुनुपर्ने भए पनि निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ र बीमा कम्पनीबीचको विवादले ढिलाइ भएको हो। विवादको कारण एक वर्षदेखि अदालतमा विचाराधीन रहे पनि दबाबका कारण निर्माण कार्यलाई अघि बढाइएको हो।
कमला पुलको निर्माण कार्य २०६८ सालमै तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ‘पप्पु कन्स्ट्रक्सन’ लाई जिम्मा दिइएको थियो। तर, काम नगरेपछि पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राखी बाँकी काम ‘लुम्बिनी बिल्डर्स’लाई सुम्पिएको थियो।
बीमा कम्पनीले क्षतिपूर्ति स्वरूप १२ करोड रुपैयाँ दिन अस्वीकार गरेपछि निर्माण कम्पनीले काम रोकेको थियो। ‘बाढीले क्षति पुर्याएपछि बीमा रकम नपाउँदा काम ठप्प भएको थियो,’ निर्माण कम्पनीका साइट इन्चार्ज सुदीप थापाले भने।
निर्देशनालयले निर्माण कम्पनीसँग आगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने सम्झौता गरेको छ। तर, कानुनी समस्या बाँकी रहेकाले पुल समयमा सम्पन्न हुनेमा अझै अन्योल रहेको योजना प्रमुख महतोले बताए।
कमला पुललाई मधेसको ‘लाइफलाइन’ मानिन्छ। यो पुल निर्माण नहुँदा स्थानीयले वर्षातमा एक सय रुपैयाँ तिरेर डुंगाको सहारामा यात्रा गर्नुपरेको छ भने हिउँदमा अस्थायी बाँस र काठको पुल प्रयोग गर्दै आएका छन्।
पुल निर्माणको पुनः सुरुवातसँगै स्थानीयमा पक्की पुलमा यात्रा गर्ने आशा पलाएको छ। यदि निर्माण निर्धारित समयभित्र पूरा भयो भने मधेसका बासिन्दाको यात्रा सहज हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया