
श्रेणी : धर्म संस्कृति
जनकपुर, ७ चैत्र । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञको नाममा दलित परिवारलाई जबरजस्ती उठीबास गराइएको घटनाले मधेश प्रदेशमा तीव्र विरोध चुलिएको छ। प्रदेशसभाका सांसदहरूले यो घटनालाई अमानवीय र निन्दनीय भन्दै दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन् ।
मधेश प्रदेशसभाको बिहीबार बसेको बैठकमा सांसदहरूले दीपक मलिकको घर भत्काएर उनको परिवारलाई उठीबास गराइएको घटनालाई निन्दनीय भन्दै भर्त्सना गरे। प्रदेश सांसद निलमकुमारी रजकले दलित परिवारमाथि भएको अन्यायको विरोध गर्दै दोषीहरूमाथि कानुनी कारबाहीको माग गरिन्।
एमाले सांसद लखन दास तत्माले मधेश प्रदेशमा बारम्बार दलित समुदायमाथि ज्यादती भइरहे पनि सरकार मौन बसेको आरोप लगाए। उनले भने, “३० वर्षदेखि बसोबास गर्दै आएको परिवारलाई उठीबास गराउनु अमानवीय कार्य हो। छुवाछुतलाई मलजल गर्ने जो-कोहीमाथि कानुनी कारबाही हुनुपर्छ।”
माओवादी सांसद मालाकुमारी कर्णले मलिक परिवारलाई उठीबास गराइएकामा गहिरो दुःख व्यक्त गर्दै भनिन्, “सधैं दलितमाथि अन्याय भइरहेको छ। मलिक परिवारको घरबासको तुरुन्त बन्दोबस्त गरिनुपर्छ र दोषीलाई कडा कारबाही गरिनुपर्छ।”
जसपा सांसद ललिता दासले हालै भएको रिंकु सदाको घटनाको घाउ निको नहुँदै फेरि सिरहामा दलित समुदायमाथि दमन भएकोप्रति आपत्ति जनाइन्। “मानवता हराएको यस्तो काम गर्ने जनप्रतिनिधिलाई कडा कानुनी कारबाही गरिनुपर्छ। प्रदेश सरकारले अब कदम चाल्नुपर्छ।”
घटना अनुसार, महायज्ञका आयोजक बजरंगी बाबाले दलित परिवारको उपस्थिति नचाहेको भन्दै मलिकको घर भत्काउन आदेश दिएका थिए। सो आदेशपछि गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर पठाएर मलिक परिवारको घर भत्काएका थिए।
यो घटनाले नेपालमा जातीय भेदभाव र दलित समुदायमाथि भइरहेका अन्यायको पुनः उजागर गरेको छ। सांसदहरू तथा विभिन्न संघ-संस्थाहरूले घटनाको गम्भीर छानबिन गरी दोषीहरूमाथि कडा कारबाही गर्न माग गरेका छन्। मलिक परिवारलाई तत्काल पुनर्स्थापित गर्न दबाब बढ्दै गएको छ।


प्रतिक्रिया