
श्रेणी : BANNER
जनकपुर,२२ जेठ । सिरहाको लहान नगरपालिकाबाट ठूलो परिमाणमा लागूऔषधसहित एक जना कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गोप्य सूचनाको आधारमा गरेको कारबाहीमा प्रहरीले लागूऔषधसहित एक मोटरसाइकल र त्यसका धनीलाई नियन्त्रणमा लिएको हो।
सिरहा प्रहरीका अनुसार लहान नगरपालिका–४, कुमाल टोलस्थित सडकछेउमा बेवारिसे अवस्थामा राखिएको एक मोटरसाइकल र बोरा फेला परेको थियो। बोरा खोलेर हेर्दा भित्र अनरेक्स ब्राण्डका १९३ बोतल लागूऔषध भेटिएको प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
जाँचका क्रममा मोटरसाइकल र लागूऔषध मोहम्मद नसरूल (२२), लहान–१९ का स्थानीय निवासीको भएको पुष्टि भएपछि उनलाई दिउँसो लहानबाट पक्राउ गरिएको हो। डीएसपी पासवानका अनुसार, प्रहरीले उनलाई पहिल्यैदेखि निगरानीमा राखेको थियो। तर, प्रहरीले पछ्याइरहेको थाहा पाएपछि उनी मोटरसाइकल र लागूऔषध छाडेर भागेका थिए।
सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई नसरूलमाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीले यस घटनालाई संगठित लागूऔषध कारोबारसँग सम्बन्धित ठानी गम्भीर रूपमा अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया