
श्रेणी : BANNER
सिरहा,२९ असोज । सिरहाको गोलबजार नगरपालिका–१० स्थित घुर्मी नदीको किनारमा झाडीभित्र फालिएको अवस्थामा एक नवजात बालिका जीवितै फेला परेकी छन्। स्थानीयवासी रामदुलार यादवले बिहान झाडीभित्रबाट बच्चाको रुवाइको आवाज सुनेपछि खोजी गर्दा शिशु भेटिएको जानकारी दिएका हुन्।
उनी तुरुन्तै वडा नं. १० का अध्यक्ष उपेन्द्र मुखियालाई खबर गरेपछि वडाध्यक्ष स्वयं घटनास्थलमा पुगेर स्थानीयहरूको सहयोगमा बालिकाको सुरक्षित उद्धार गरेका हुन्। उद्धारलगत्तै शिशुलाई तत्काल गोलबजारस्थित वर्धमान अस्पताल लगिएको र उपचारपछि हाल स्वास्थ्य अवस्था सामान्य रहेको वडाध्यक्ष मुखियाले बताएका छन्।
अस्पतालका चिकित्सकका अनुसार शिशुको उमेर जन्मेको केही घण्टामात्र भएको देखिएको छ। अस्पतालमा अहिले बालिकाको नवजात शिशु वार्डमा निगरानीपूर्वक उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारको टोली घटनास्थलमा पुगेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेश बहादुर पालले उक्त घटनाबारे अनुसन्धान सुरु भएको र शिशु कसले र किन फाले भन्नेबारे खोजी भइरहेको जानकारी दिएका छन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुमानमा सम्भवतः जन्मपश्चात् परित्याग गरिएको घटना हुनसक्ने देखिएको छ। घटनास्थल वरिपरिका घरपरिवार र स्वास्थ्य संस्थाहरूमा पनि हालसालै प्रसूति भएकाहरूको विवरण संकलन गरिँदै छ।
स्थानीयवासीहरूले भने यस्तो अमानवीय कार्य गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका छन्।


प्रतिक्रिया