
श्रेणी : मधेस
काठमाडौँ, १७ माघ । हेल्पिङ ह्याण्ड फर रिलिफ एन्ड डेभलपमेन्ट नामक गैरसरकारी संस्थाले सिरहाका तीन अस्पताललाई करोडौं मूल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरेको छ। बुधबार आयोजित विशेष कार्यक्रममा धनगढीमाई नगरपालिका–९ स्थित नैनपुर अस्पताल, सुखीपुर नगरपालिका–८ स्थित आधारभूत अस्पताल र अर्नमा गाउँपालिका–१ महनौरस्थित महनौर अस्पताललाई सामग्री हस्तान्तरण गरिएको हो ।
संस्थाका महासचिव मो मेराज खानले स्वास्थ्य सेवामा सुधार र स्थानीय समुदायलाई सहज पहुँच प्रदान गर्ने उद्देश्यले सिरहासहित अन्य जिल्लामा पनि सहयोग गर्दै आएको बताए। उनले भने, “दलित, अति विपन्न र आर्थिक रूपमा कमजोर समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यले सरकारी अस्पताललाई प्राथमिकतामा राखेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिँदै आएको छ ।”
अमेरिकन सहयोगमा सञ्चालित यस परियोजना शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा मधेश प्रदेशका सिरहा, महोत्तरी र सर्लाहीसहित देशभरका ४२ जिल्लामा सामाजिक सेवा कार्यमा संलग्न रहेको महासचिव खानले जानकारी दिए ।
अस्पताल प्रशासनले प्राप्त स्वास्थ्य सामग्रीले सेवा प्रवाहमा महत्वपूर्ण सुधार आउने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी तथा स्वास्थ्य कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया