
श्रेणी : मधेस
बारा, १७ माघ । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजले सिम्रौनगढको ऐतिहासिक महत्वलाई स्मरण गर्दै “सिम्रौनगढ नभएको भए नेपाल नै रहने थिएन” भन्ने अभिव्यक्ति दिएका छन्। उनले समाजिक न्याय विद्यार्थी निकेतनद्वारा आयोजित तेस्रो संगोष्ठीमा सम्बोधन गर्दै यो धारणा राखेका हुन् ।
उनले दिल्लीका बादशाह ग्यासुद्दिन तुगलकले सिम्रौनगढमा आक्रमण गर्दा यहाँका सेनाहरूले मरणोपरान्तसम्म लडेको उल्लेख गर्दै सिम्रौनगढको ऐतिहासिक, पुरातात्त्विक र धार्मिक पहिचानको महत्त्व प्रस्ट पारे। “जसले इतिहास सम्झिँदैन, उसको भविष्य सम्झन लायक हुँदैन,” उनले तर्क गरे ।
ओम पार्टी प्यालेसमा आयोजित संगोष्ठीमा मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्य, पूर्व न्यायाधीश प्रेमराज कार्की, रौशन कुमार झा, निर्मला लामा, र युवराज संग्रौलालगायतले सिम्रौनगढको ऐतिहासिक, सामाजिक, आर्थिक, र पुरातात्त्विक पक्षबारे धारणा राखे। कार्यक्रममा सिम्रौनगढको इतिहासमा आधारित वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।
काठमाडौँ स्कुल अफ ल, वीरगञ्ज स्कुल अफ ल, हरिखेतान वीरगञ्ज, ममता विद्या मन्दिरका छात्रछात्रालगायत ८७ जनाको सहभागिता रहेको यो कार्यक्रममा दीक्षा खडकाको अध्यक्षतामा भएको थियो भने संचालन कृतिका खडकाले गरे ।
कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी प्रसाद साह र प्रमुख प्रशासकीय अधिकृतले पूर्व प्रदेश प्रमुख राजेश अहिराजलाई सिम्रौनगढको मायाको चिनो प्रदान गरेका थिए ।


प्रतिक्रिया